
‘मेरो साला भरत खरेल कोरोनाबाट गयो । अस्पतालमा बेड भेटिएन । मृत शरीर कोठामा छ । परिवार सबै संक्रमित छन् । पीसीआर पोजेटिभ छ । वडाले सिफारिश गरे सीसीएमसीबाट प्रक्रिया शुरू हुन्छ । कसरी घरभित्र रहेको मृत शरीर उठ्ला ? राज्यका निकाय र सामाजिक संस्था खै ? कस्तो छ हाम्रो देशको कोरोना व्यवस्थापन !’ #HELPLESS
वरिष्ठ अधिवक्ता डा. कुमार आचार्यले हिजो (शनिवार) गरेको ट्वीट हो यो ।
मेरो साला भरत खरेल कोरोनाबाट गयो! अस्पतालमा बेड भेटिएन, मृत शरीर कोठामा छ! परिवार सबै संक्रमित छन्। PCR Positive छ। वडाले सिफारिस गरे CCMC बाट प्रकृया शुरु हुन्छ ! कसरी घरभित्र रहेको मृत शरीर उठ्ला राज्यका निकाय र सामाजिक संस्था खै?कस्तो छ हाम्रो देशको कोरोना व्यवस्थापन!#HELPLESS
सामाजिक सञ्जालमा हारगुहार गरेपछि वडा कार्यालयले सिफारिश दिएको तर नेपाली सेनाले आफ्नो फम्र्याटमा नभएको भनेपछि दुःख पाएको भन्दै फेरि उनले अर्को ट्वीट गरे ।
‘नेपाल आर्मीको पनि कागजी काम ? मृत शरीर घरबाट निकाल्न वडाको सिफारिसपछि पनि फर्म्याट मिलेन अरे ! परिवार सबै संक्रमित छन् । पटक–पटक वडाबाट सिफारिश, सीसीएमसी अनि सेना र अन्य ! मृतकको सतगत गर्न पनि तहगत प्रकृया ! कस्तो देश हो यो ? कुनै एक ठाउँमा खबर भए उसैले सबै प्रक्रिया पुर्याउन मिल्दैन र?’
****
केही दिनअगाडि काठमाडौंको बौद्धस्थित एक परिवारका सबै जनालाई रुघाखोकी लाग्यो । उनीहरूले टिचिङ अस्पतालमा पीसीआर टेष्ट गरे । तर त्यही दिन घरका वृद्धको मृत्यु भयो । उनको दाहसंस्कार गरे ।
तर बेलुका परिवारका सबै सदस्यको कोरोना पोजेटिभ देखियो । त्यो कुरा न सरकारले पत्तो पायो, न तथ्यांकमा आयो । छिमेकीले प्रहरीलाई खबर गरेपछि मात्रै घटना बाहिरियो ।
****
२१ गते नेपालगञ्जको भेरी कोरोना विषेश अस्पतालमा ५२ वर्षीय कोरोना संक्रमितको शव अन्य संक्रमित बिरामीसँगै २ दिनसम्म रह्यो ।
कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव सरकारले व्यवस्थापन गर्न नसक्दा कोरोना संक्रमण भएर अस्पतालमा बसेका बिरामी र होम आइसोलेसनमा बसेका बिरामीको समेत मनोबल गिरेको छ । सरकारले भने यी सबै कुरा लाचार भएर हेरिरहेको छ ।
वडा कार्यालयको सिफारिशविना सीसीएमसीले कारोना संक्रमितको शव व्यवस्थापन नगर्ने भएकाले घरमा सबै कोरोना संक्रमित भएका परिवारले शव समेत जलाउन नपाउने अवस्था देखिएको छ ।
कति कोरोना संक्रमितको मृत्यु भयो भन्ने कुराको यकिन तथ्यांक समेत सरकारसँग छैन । मृत्युबारे खबर गर्दा पनि शव व्यवस्थापन गर्ने विषय सीसीएमसीको भएका भन्दै स्वास्थ्य मन्त्रालय पन्छिने गरेको छ ।
आफूहरूले पनि कोभिड–१९ शव व्यवस्थापन निर्देशिका अनुसार मात्र शव उठाउने भएकाले शव समयमै उठ्न नसकेको सीसीएमसी स्वीकार्छ ।
घरमै मृत्यु भएकाहरूको शव लामो समयसम्म उठ्न नसक्ने अवस्था छ ।
सबै प्रक्रिया पूरा गरिसकेपछि पनि शव व्यवस्थापन गर्ने ठाउँमा शव जलाउन कुर्नुपर्ने, सेनाले शव व्यवस्थापन गर्दा अपनाउने प्रोटोकल अन्तर्गत पर्नुपर्ने आदि कारणले समय लाग्ने गरेको सीसीएमसीका सचिव खगराज बरालले बताए ।
‘कोरोनाका कारण मृत्यु भएका व्यक्तिको शव सेनाले सीसीएमसीमार्फत मात्र व्यवस्थापन गर्छ । सेनाको आफ्नै त्यसका लाश जलाउने ठाउँ र अपनाउनु पर्ने प्रोटोकलका कारणले ढिलाइ भएको छ,’ सचिव बरालले लोकान्तरसँग भने, ‘कतिपय अवस्थामा आफन्तहरूले गर्दा र अस्पतालका कारणले पनि ढिला भएको छ ।’
होम आइसोलेसनमा मृत्यु भएका कोरोना संक्रमितको शव व्यवस्थापनका लागि १०५ मा सम्पर्क गर्न बरालले अनुरोध गरे ।
शव व्यवस्थापन गर्दै आएको नेपाली सेना र स्वास्थ्य मन्त्रालयको तथ्यांकमा समेत फरक पर्ने गरेको सचिव बरालले बताए ।
उनका अनुसार स्वास्थ्य मन्त्रालयमा अस्पतालमा मृत्यु भएकाहरूको मात्र तथ्याङ्क हुने र नेपाली सेनासँग शव व्यवस्थापन गरेका संख्या हुने भएकाले तथ्याङ्क फरक हुने गरेको छ ।
‘मन्त्रालयले अस्पतालको मात्र तथ्याङ्क राख्छ, सेनाले भने व्यवस्थापन गरेका सबै शवका तथ्यांक राख्ने भएकाले फरक पर्छ,’ बरालले लोकान्तरसँग भने, ‘एकिन तथ्यांक थाहा पाउन मन्त्रालय र सेनाको तथ्यांक मिलान गर्नुपर्छ ।’
स्वास्थ्य मन्त्रालय र सेनाले गर्ने शव व्यवस्थापनमा फरक पर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले बताए ।
‘हामीले राख्ने तथ्यांक अस्पतालबाट आउने र सीसीएमसीबाट आउने हो तर सेनाले व्यवस्थापन गर्ने तथ्यांक र मन्त्रालयले सार्वजनिक गर्ने तथ्यांकमा फरक देखिन्छ,’ प्रा.डा. गौतमले लोकान्तरसँग भने ।
शव व्यवस्थापनको जिम्मा सीसीएमसीको भएकाले यस विषयमा मन्त्रालयलाई जानकारी नहुने प्रवक्ता गौतमले बताए ।
सीसीएमसीबाट खबर आएपछि शव उठाउँछौंः सेना
नेपाली सेनाले सीसीएमसीमार्फत प्रक्रियामा आएकाहरूको मात्र शव व्यवस्थापन गर्दै आएको छ ।
नेपाली सेनाको कोभिड–१९ शव व्यवस्थापन कार्यविधिअनुसार मात्र होम आइसोलेसनमा मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापन गर्ने गरेको नेपाली सेनाका प्रवक्ता सहायक–रथी सन्तोष बल्लभ पौडेलले बताए ।
‘हामीले शव व्यवस्थापन निर्देशिका अनुसार शव व्यवस्थापन गर्दै आएका छौं,’ प्रवक्ता पौडेलले लोकान्तरसँग भने, ‘होम आइसोलेसनमा मृत्यु भएका व्यक्तिहरूको शव कसरी व्यवस्थापन गर्ने भन्ने निर्देशिकाले स्पष्ट पारेको छ ।’
निर्देशिकाअनुसार होम आइसोलेसनमा मृत्यु भएका व्यक्तिलाई व्यवस्थापन गर्न सम्बन्धित वडा कार्यालयको लिखित अनुरोध पत्र, मृतकको पीसीआर पोजेटिभ भएको रिपोर्ट, मृतकका आफन्तको मञ्जुरीनामा र इलाका तथा वडा प्रहरी कार्यालयबाट कोरोनाका कारण मृत्यु भएको प्रकृति मुचुल्का गरेपछि मात्रै शव उठाउने गरेको प्रवक्ता पौडेलले बताए ।
जानकारी भए घरमै सिफारिश दिन्छौंः स्थानीय तह
कोरोना संक्रमण भएका परिवारमा मृत्यु भएको खबर पाएको खण्डमा घरमै सिफारिश उपलब्ध गराउँदै आएको काठमाडौं महानगरपालिकाका प्रवक्ता इन्द्रमान डंगोल दाबी गरे ।
‘हामीले शव व्यवस्थापन गर्न समस्या नहोस् भनेर घरमा मृत्यु भएका कोरोना संक्रमितका सम्बन्धमा खबर आउनासाथ घरमा गएर सेवा दिएका छौं,’ प्रवक्ता डंगोलले लोकान्तरसँग भने ।’
यस्तै भरतपुर महानगरपालिकाले भने परिवारका अन्य सदस्य आएको खण्डमा सजिलै सिफारिश उपलब्ध गराउँदै आएको प्रवक्ता अरुण पीडित भण्डारीले बताए ।
‘कोरोना लागेको घरमा पुगेर त उपलब्ध गराउन सक्दनौं तर आफन्तहरू जो आए पनि सिफारिश उपलब्ध गराउँदै आएका छौं,’ प्रवक्ता भण्डारीले लोकान्तरसँग भने ।