सरकार, पसलहरूमा भीड कम गर्न अनलाइन होम डेलिभरी खुला गर

कोरोना थप फैलन नदिने उद्देश्यले अरू देशले जस्तै नेपालले पनि यतिबेला काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा निषेध आदेश जारी गरेको छ । आदेश जेसुकै भएपनि धेरैले यसलाई सजिलो भाषामा लकडाउन भनेर बुझेका छन् । 

लकडाउनमा नागरिकलाई घरबाट बाहिर ननिस्कन भनिएको छ । अत्यावश्यक बाहेकका निजी तथा सार्वजनिक सवारी चल्न रोक लगाइएको छ । दैनिक उपभोग्य सामग्री खरिदका लागि बिहान ७ देखि ९ बजेसम्म मात्र पसल खुल्न दिने नियम लागू गरिएको छ ।


Advertisement

कोरोना संक्रमण फैलन नदिन सरकारले लागू गरेका यी नियमको पालना गर्नु नागरिकको दायित्व हो, यसमा द्विविधा छैन । तर सरकार स्वयंको दोहोरो चरित्र र परस्पर बाझिने नीतिका कारण हजारौं नागरिकहरू घरबाहिर निस्किन बाध्य हुने स्थिति पैदा भएको पाइएको छ । त्यसो हुनुको प्रमुख कारणमध्ये एक अनलाइन डेलिभरीका सवारीमा लगाइएको रोक हो । 

अनलाइन डेलिभरी गर्ने संस्थाको संख्या धेरै भएको भन्दै सरकारले उक्त सेवाका सवारी सञ्चालनमा रोक लगाएको छ ।

अनलाइन डेलिभरीमार्फत सामान घरघरमा पुर्‍याउन सवारी साधन प्रयोग गर्नुपर्ने हुन्छ । तर अनलाइन डेलिभरीका सवारी लकडाउन भएकै दिनदेखि गुड्न दिइएको छैन । लकडाउनमा नागरिकलाई घरमै बस भन्ने तर अनलाइन डेलिभरीमार्फत घरघरमा सामान पुर्‍याउन नदिने सरकारको दोहोरो मापदण्डले सामान किन्नकै लागि हजारौं नागरिक घरबाहिर निस्कन बाध्य हुनुपर्ने अवस्था सिर्जना भएको हो ।

मोटामोटी तथ्यांकलाई आधार मान्ने हो भने काठमाडौं उपत्यकाको जनसंख्या  अहिले ५० लाख हाराहारी छ । ५० लाखमध्ये न्यूनतम एक लाखले इकमर्स अर्थात अनलाइन सेवामार्फत कारोबार गर्ने मोटामोटी तथ्यांक छ ।  

एउटा परिवारमा ४ देखि ६ जना सदस्य हुने अनुमान गर्ने र त्यसको आधारमा एउटा परिवारमा सरदरमा ५ सदस्य भएको मान्ने हो भने २० हजार घरधुरीका मानिसले दैनिक अनलाइनमार्फत कारोवार गर्ने भए । होम डेलिभरीका सवारी रोक्नु भनेको ती २० हजार मानिसलाई यो लकडाउनमा सामान किन्न घर बाहिर निस्किन बाध्य पार्नु हो ।

अनलाइन डेलिभरी गर्ने एउटा सवारीले दैनिक सरदर ५० घरधुरीमा सामान पुर्याउने अनुमान छ । त्यसरी हेर्दा दैनिक काठमाडौंमा काठमाडौंमा अनलाइन डेलिभरीका ४ हजार सवारी गुड्ने भए ।

दैनिक २०औं हजारको संख्यामा मानिस सामान किन्न घरबाहिर निस्कनुभन्दा ४ हजार सवारी गुड्न दिनु जोखिमको हिसाबले कम हुने देखिन्छ । बिहान ९ देखि ७ बजेसम्म पसल खोल्न दिने नियम पनि आफैँमा भीड बढाउने माध्यम बनेको देखिन्छ, किनभने एउटै समयमा धेरै मानिस पसलमा पुग्नुपर्ने हुँदा स्वतः त्यसले मानिसको भीड बढाउँछ र भीडले कोरोना संक्रमण थप फैलाउने खतरा रहन्छ ।

यसरी विश्लेषण गर्दा दैनिक २० औं हजारको संख्यामा मानिस पसलमा पुग्न बाध्य पार्ने अवस्था स्थानीय प्रशासनकै कारण पैदा भएको देखिन्छ । त्यसरी नागरिक घरबाहिर निस्कनुपर्दा भीड बढ्नेतर्फ स्थानीय प्रशासनले गहिरो ढंगले अध्ययन र विश्लेषण गरेको पाइएन । कोरोना सर्न सक्छ भन्ने डर हुँदाहुँदै पनि घरघरमै सामान नआएपछि सामान किन्न बाहिर निस्किनु नागरिकको बाध्यता हुन जान्छ ।

बाध्यतावश नागरिक घरबाहिर निस्केपछि निषेधाज्ञाको उल्लंघन त हुन्छ नै त्यसले पसलहरूमा भीडभाड पनि बढाउँछ । भीडभाड बढ्न जाँदा कोरोनाको संक्रमण थप फैलने खतरा हुनसक्छ । तर, आफ्नै फितलो र बाझिने नीतिका कारण निषेधाज्ञाको उल्लंघन र कोरोना थप फैलने स्थिति उत्पन्न भैरहेकोतर्फ सरकारी अधिकारीले अहिलेसम्म समीक्षा गरेको देखिएन । 

यदि निषेधाज्ञालाई पूर्णरूपमा पालना गराउने हो र नागरिकलाई घरबाहिर निस्कनै पर्ने बाध्यताबाट जोगाउने हो भने अनलाइन डेलिभरीका सवारीलाई गुड्न दिनुपर्ने तर्क व्यावहारिक देखिन्छ ।

निश्चित मापदण्ड तोकेर डेलिभरीका सवारीलाई चल्न दिँदा हजारौं नागरिक घरबाहिर निस्किनु पर्दैन । जसले गर्दा बाहिर भीड हुन्न, नत्र तरकारी र खाद्यान्न किन्न बाहिर निस्किन कर लाग्छ । बाहिर निस्किँदा संक्रमण हुने सम्भावना बढ्छ र भोलि गएर संक्रमित पनि बढी हुन्छन् । यसरी हेर्दा होम डेलिभरीले तुलनात्मकरूपमा कोरोना संक्रमण कम गर्न सहायता पुर्‍याउँछ न कि बढाउँछ ।

एकातर्फ घरबाट ननिस्क भन्ने अर्कातर्फ घरबाट निस्किन बाध्य पार्ने दोहोरो सरकारी नीतिले सरकारले लागू गरेको निषेधाज्ञालाई गिज्याइरहने छ । यसतर्फ स्थानीय प्रशासन, प्रमुख जिल्ला अधिकारी, वाणिज्य तथा आपूर्ति विभाग र सुरक्षा अंगका अधिकारीहरूको चेत खुल्न जरुरी छ ।

नेपाल राष्ट्र बैंकले समेत लकडाउनको समयमा क्यासलेस पेमेन्टको व्यवस्था गर्न बंैक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिइसकेको छ र उनीहरूले त्यसैगरी सेवा चलाएका छन् । संसारका अन्य धेरै देशमा लकडाउनको समयमा नागरिकको घरघरमा अनलाइन डेलिभरीमार्फत सामान पुर्‍याएको उदाहरण छन् । त्यसबाट नेपालले सिक्नुपर्नेमा उल्टो नीति सरकारी अधिकारीले लिएको भन्दै त्यसको आलोचना भएको हो । 

लोकान्तर सम्पादकीय
लोकान्तर सम्पादकीय

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्