आज अन्तर्राष्ट्रिय आमा दिवस हो र ब्राजिलमा कोरोनाभाइरसका कारण धेरै आमाहरूको मृत्यु भएकाले एक पुस्तै टुहुरो भएको छ ।
सन् २०२१ को आरम्भिक चार महिनामा चार हजारभन्दा बढी गर्भवती महिला कोरोना संक्रमित भए । तीमध्ये ४९४ महिलाको मृत्यु भयो । ती मृत्युहरू डेलिभरीअघि पा पछि भए । त्यसले गर्दा सयौं नवजात शिशु वा उनीहरूभन्दा अघि जन्मेका दिदीदाइ अनाथ भएका छन् ।
ब्राजिलमा पहिले वृद्ध महिलाहरू कोरोनाका कारण बितिरहेका थिए । तर कोरोनाको नयाँ भेरिएन्ट आएपछि युवा महिला पनि संक्रमित भइरहेका छन् र मरिरहेका छन् ।
कोरोनाकालमा आमा बनेका महिलाहरूको मृत्यु हुँदा नवजात शिशुले आमाको छत्रछायाँ गुमाएका हुन् ।
रोड आइल्यान्डस्थित ब्राउन विश्वविद्यालयकी अनुसन्धाता डेबोरा डिनिजले ब्राजिलमा गर्भवती महिलालाई स्वास्थ्य सुविधा पहिले नै कमजोर रहेको बताइन् । कोरोना महामारीपछि गर्भवती महिला र सुत्केरी महिलाको स्थिति झनै बिग्रेको छ । उनीहरूले अस्पतालमा सुरक्षा र स्वास्थ्य दुवै पाएका छैनन् ।