२५ जेठ २०८३, सोमबार
ओलीको अपिल

एमाले अध्यक्ष ओलीको अपिल– 'पार्टीको सरकारलाई ढालिछाड्ने घातक काममा कोही नलागौं'

बैशाख २६, २०७८
एमाले अध्यक्ष ओलीको अपिल– 'पार्टीको सरकारलाई ढालिछाड्ने घातक काममा कोही नलागौं'
फाइल फोटो

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सरकारलाई ढालिछाड्ने र विरोधीहरूको दिग्विजय गराई उत्सव मनाउनेजस्तो घातक काममा नलाग्न पार्टीका नेता कार्यकर्तालाई आह्वान गरेका छन् ।

आइतवार एक विज्ञप्ति प्रकाशित गर्दै ओलीले व्यक्तिका स्वार्थ, असन्तुष्टि र इर्श्यामा पार्टीको आन्दोलनलाई लगाउन नहुने बताएका हुन् । 

‘आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीहरूको स्वार्थलाई मलजल गर्न कतै फ्लोर क्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गरी/गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारी छाड्नेजस्ता हानिकारक प्रयास भएका छन्,’ ओलीले अपिलमा भनेका छन्, ‘कुनै पनि तहमा पार्टीका सरकारलाई ढालि छाड्ने र विरोधीहरूको दिग्विजय गराएर उत्सव मनाउनेजस्ता घातक र दुःखद् प्रवृत्तिहरू पनि आज देखा परेका छन् । यी प्रवृत्ति कुनै पनि हिसाबले उपयुक्त होइनन् र यी हानिकारक छन् ।’ 

माधव नेपाल पक्षका सांसदहरूले राजीनामा गर्न लागेको प्रति संकेत गर्दै ओलीले त्यस्तो घातक काममा नलाग्न आग्रह गरेका छन् । 

‘के यस्ता क्रियाकलापमा सरिक हुनेलाई इतिहासले माफी गर्ला ? सोचौं, भोलि हामी जनतालाई के जवाफ दिन्छौं ? तसर्थ, यस्तो अपराध कर्ममा जानी/नजानी कुनै पनि हिसाबले संलग्न नहुन म पार्टी अध्यक्षको हैसियतले सबैलाई हार्दिक आह्वान र आग्रह गर्दछु । यो पार्टी हामीले बनाएको हाम्रो पार्टी हो । यस पार्टीका इमान्दार नेता कार्यकर्ता पार्टीलाई हानी पुग्ने र आन्दोलनलाई क्षति पुर्‍याउने कुनै पनि क्रियाकलापमा संलग्न हुँदैनन् भन्नेमा म विश्वस्त छु,’ ओलीले भनेका छन् । 

हेर्नुहोस्, ओलीको विज्ञप्ति :


 

salt training

कमेन्ट गर्नुहोस्