भारतमा तीव्र गतिमा फैलिरहेको कोरोनाभाइरसको एउटा भेरिएन्ट अत्यन्तै संक्रामक छ ।
यस भेरिएन्टले शरीरमा खोपलाई समेत झुक्याएर महामारी विस्फोट गराउन सक्ने चेतावनी विश्व स्वास्थ्य संगठनकी प्रमुख वैज्ञानिक सौम्या स्वामीनाथनले दिएकी छन् ।
एएफपीसँग कुराकानी गर्दै उनले महामारीका विभिन्न पक्ष हेर्दा यो भेरिएन्ट द्रुत गतिमा फैलिने खालको देखिएको बताइन् ।
शनिवार भारतमा पहिलोपटक कोभिड–१९ का कारण २४ घन्टामा चार हजारभन्दा बढी मृत्यु भएको छ अनि चार लाखभन्दा बढी केस देखिएका छन् ।
राजधानी दिल्लीमा कोरोनाको कडा अरि देखिएको छ र स्वास्थ्य प्रणाली ध्वस्त भएको छ । कतिपय विशेषज्ञहरूले भारतमा मृत्यु तथा संक्रमणका आधिकारिक आँकडाहरू घटाएर प्रस्तुत गरिएको आरोप लगाइरहेका छन् ।
क्लिनिकल साइन्टिस्ट स्वामीनाथन भन्छिन्, ‘पोहोर साल अक्टोबर महिनामा पहिलोपटक भारतमा देखिएको कोभिडको बी.१.६१७ भेरिएन्ट नै स्पष्ट रूपमा भारतको स्वासथ्य प्रणाली ध्वस्त पार्ने भेरिएन्ट हो । यो अहिलेसम्मकै सबभन्दा द्रुत गतिमा फैलिने भेरिएन्ट हुन सक्छ ।
विश्व स्वास्थ्य संगठनले हालै यसलाई भेरिएन्ट अफ इन्टरेस्टका रूपमा सूचीकृत गरेको छ ।
स्वामिनाथनका अनुसार, यो भेरिएन्ट मूल भाइरसभन्दा धेरै खतरनाक र संक्रामक छ । यसले शरीरमा लगाइएको खोपलाई समेत झुक्याउन सक्छ ।