भारतमा पोहोर साल कोरोनाभाइरस आउँदा सुरक्षा उपकरणको चरम अभावको स्थिति रहेकोमा यस वर्ष लत्ताकपडा उद्योगले उत्पादन बढाएका कारण एन–९५ मास्क र पीपीई किटहरू पर्याप्त मात्रामा रहेको अधिकारीहरूले बताएका छन् ।
कोभिड–१९ विरुद्धको प्रतिरक्षाको पहिलो पंक्तिमा पीपीई किट र मास्क रहेका छन् ।
‘मन्त्रालयले हप्ताको दुईपटक समीक्षा गर्छ । एन९५ मास्क र पीपीई किट आवश्यकताभन्दा बढी उत्पादन गर्ने क्षमता हामीसँग छ । उत्पादकहरूको विस्तृत विवरण वेबसाइटमा शेयर गरिएको छ ताकि आवश्यक परेकाहरूले माग गर्न सकून्,’ एक अधिकारीले बताए ।
मार्च २०२० मा संक्रमणको आरम्भिक चरणमा भारतले मापदण्डमुताबिकको पीपीई किट बनाउन सकेको थिएन जसले गर्दा केन्द्र सरकारले निर्यातमा पूर्ण रोक लगाएको थियो ।
तर डिसेम्बर महिनासम्ममा भारत पीपीई किट बनाउने संसारकै दोस्रो ठूलो मुलुक बनिसकेको थियो । एघार सयभन्दा बढी उत्पादकहरूले दैनिक रूपमा चार लाख ५० हजार भन्दा बढी युनिट उत्पादन गरिरहेका छन् ।