काठमाडौं, १७ जेठ - सहमतीय सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको एक साताको समय सकिनु एक दिनअघि कांग्रेसले आफ्ना पक्षमा समर्थन जुटाउन संसद्मा प्रतिनिधित्व गरेका दलहरूसँग छलफल गरेको छ । कांग्रेसले बुधबार प्रमुख विपक्षी दल एमाले नेतासँग छलफल गर्ने भएको छ । सहमतीय सरकार गठनका लागि दिइएको समय बुधबार सकिँदै छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ १० मा राजीनामा दिएपछि राष्ट्रपति भण्डारीले सहमतीय सरकार गठनका लागि एक साताको समय दिएका थिए ।
उक्त समय बुधबार सकिँदै छ । बुधबार सहमतीय सरकार गठन नभए बिहीबारदेखि सरकार गठन बहुमतीय प्रक्रियामा अघि बढ्नेछ । अहिलेसम्मको अवस्था हेर्दा बुधबार नै सहमतीय सरकार गठन हुन सक्ने सम्भावना न्यून हुँदै गएको छ ।
आफैंले संसद् भवन नयाँ बानेश्वरमा मंगलबार आयोजना गरेको सर्वदलीय बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले तीनै तहको चुनाव सम्पन्न गरेपछि मात्रै नयाँ संविधानको पूर्ण कार्यान्वयन हुने भन्दै आफ्नो नेतृत्वमा सहमतीय सरकार गठनमा सहयोग गर्न आग्रह गरे, अन्नपुर्ण पोस्टमा खबर छ ।