काठमाडौं, १७ जेठ- करिब दुई वर्ष खाडीमा बिताएर स्वदेश फर्कने क्रममा कपिलवस्तु शिवपुर-४ का रामभोजन थारु सोमबार त्रिभुवन विमानस्थलमा सबै जाँच सजिलै पार गर्दै बाहिर निस्किए । तर, आगमन कक्षबाट बाहिरिएलगत्तै पार्किङमा उनलाई प्रहरीले शंकास्पद अवस्थामा भेट्यो ।

३७ वर्षीय रामभोजनले आफूसँगै विदेशबाट आएका अन्यसँग सुन संकलन गरिरहेका थिए । रामभोजनले संकलन गरेको सुन लिन विमानस्थलमा अर्का एक व्यक्ति पनि पुगिसकेका थिए । प्रहरीले रामभोजनको साथबाट एक सय ९३ ग्रामका कुल चार वटा सुनका बाला बरामद गर्यो ।
विमानस्थल जाँचमा कडाइ हुन थालेपछि तस्करले सुन तस्करीमा नयाँ शैली अपनाउने गरेको खुलासा भएको छ । विमानस्थल प्रहरीले रामभोजन र उनले जम्मा गरेको सुन लिन पुगेका चितवनका राजकुमार भुसाललाई पनि पक्राउ गरेको छ । चितवन वीरेन्द्रनगरका ३२ वर्षीय भुसाल नयाँबसपार्कस्थित होटल म्याग्दी पोखराका सञ्चालक हुन् । विदेशबाट आउँदा नेपालीले अधिकतम ५० ग्रामसम्म सुनको निर्माण सामग्री लिएर आउन पाउँछ । तर, काँचो सुन भने प्रतिबन्धित छ, अन्नपूर्ण पोस्टमा खबर छ ।