प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार कुनै पनि हिसाबले विश्वास नगर्नुपर्ने सरकार हुँदै नभएको बताएका छन् ।
सोमवार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले भने, ‘वर्तमान सरकार कुनै पनि हिसाबले विश्वास नगर्नुपर्ने सरकार हुँदै होइन ।’
राष्ट्रियताको सवालमा अडान लिएर सरकारले राष्ट्रिय स्वाभिमान माथि उठाउने काम गरेको उनले बताए । ‘राष्ट्रियताको सवालमा मैले धेरै भनिराख्नुपर्दैन । राष्ट्रिय हितको रक्षा र सम्वर्द्धनको प्रश्नमा, भौगोलिक अखण्डताको पहरेदारी गर्ने सन्दर्भमा, राष्ट्रिय स्वाभिमान माथि उठाउने सन्दर्भमा वर्तमान सरकारले कुनै कसर बाँकी नराखेको कुरा तर्कभन्दा माथि छ, तस्वीर आफैं बोल्छ,’ उनले भने ।
प्रधानमन्त्री ओलीले सुशासन र विकासको सन्दर्भमा समेत सरकारले काम गरेको बताए । ‘मैले धेरै भनिराख्नु पर्दैन । हाम्रा कामहरू आफैं बोल्छन् । तसर्थ विश्वास नगर्नुपर्ने कुनै कारणै छैन,’ उनले भने ।
उनले कोभिड विरुद्धको औषधि खरिदमा भ्रष्टाचार भएको नाममा अनुचित ‘कनेक्सन’ देखाइएको बताए । प्रधानमन्त्री निकटका व्यवसायीले कमिसन खान खोज्दा खोप ल्याउन ढिलाइ भएको प्रचारबाजी भइरहेका बेला ओलीले स्पष्ट पारेका छन् ।
बैठकलाई सम्बोधन गर्दै ओलीले कोरोना महामारीको बेला भ्रष्टाचार र अपराध गर्ने कार्य क्षम्य नहुने बताए । ‘कोभिडविरुद्ध औषधि खरिदमा भएको भ्रष्टाचारको नाममा कुरा उछाल्ने, नभएको कनेक्सन अनुचित ढंगले देखाउने काम भएको छ,’ ओलीले भने, ‘हामीलाई थाहा छ, दुनियाँमा भ्याक्सिनको अभाव छ । दक्षिण एसियामा भारतपछि भ्याक्सिनको प्रयोग गर्ने हाम्रो देश हो । एउटा पनि पीसीआर नभएको ठाउँमा ८६ स्थानमा पीसीआर हुँदैछ ।’
उनले सरकारले कोभिड नियन्त्रणका लागि काम गरिरहेको बताए ।