काठमाडौं, १३ पुस –त्रिभुवन विश्वविद्यालयका विभिन्न संकाय र संस्थानमा दलीय भागबन्डाका आधारमा डिन र निर्देशक नियुक्ति गरिएको छ ।

त्रिवि कार्यकारी परिषद् बैठकले ठूला पार्टीलाई भागबन्डा गरी ६ डिन र तीन अनुसन्धान केन्द्रमा कार्यकारी निर्देशक नियुक्त गरेको हो । लामो समयदेखि निमित्त र तीनमहिने डिनबाट चल्दै आएको त्रिविमा कांग्रेस, एमाले, माओवादी केन्द्र र मधेसवादी दलको भागबन्डामा कुरा मिलेपछि नियुक्त गरिएको हो, आजको नयाँ पत्रिकामा खबर छ ।
त्रिभुवन विश्वविद्यालयका प्रवक्ता भोला ढकालले मंगलबार बसेको कार्यकारी परिषद् बैठकले संस्थान र संकायअन्तर्गत तीन–तीनजना डिन नियुक्त भएको जानकारी दिए । तीन अनुसन्धान केन्द्रमा पनि कार्यकारी निर्देशक नियुक्त भएका छन् । नियुक्त भएका ६ डिनमध्ये तीन कांग्रेस, दुई माओवादी र एक एमालेको भागमा परेका छन् ।