चितवन, १७ जेठ- गत ३१ वैशाखमा भएको मतदानमा झन्डै एक लाख १२ हजार भरतपुरवासीले मतदान गरे । करिब एक लाख आठ हजार मत सुरक्षित गनियो । गणना गर्न बाँकी अन्तिम चार हजार मत निर्णयक हुनेवाला थियो । तर, सो मत गणना हुनै पाएन । एकाएक मतपत्र च्यातिएपछि अब वडा नं. १९ मा पुनः मतदान कि मतगणनालाई निरन्तरता दिइनेछ भन्ने अन्योल छाएको छ ।
माओवादी केन्द्र र कांग्रेस गठबन्धन उम्मेदवार रेणु दाहालले करिब ३८ सयबाट मतान्तर करिब सात सयमा झारिसकेकी थिइन् । आइतबार राति भरतपुरस्थित कभर्ड हलमा वडा नं. १९ को मतगणना भइरहेको थियो । त्यसपछि गणना हुन वडा नं. २० मात्र बाँकी थियो ।

करिब २८ सय मतदाता रहेको वडा नं. १९ को पनि एक हजार आठ सय मत गणना भएर नतिजा सार्वजनिक भइसकेको थियो । थप ६ सय अर्थात् कुल २४ सय मतको परिणाम सार्वजनिक हुनै लाग्दा मतपत्र च्यातिएको हो । लगत्तै मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले सोमबार बिहान १ बजेर २० मिनेटमा सूचना टाँस गरी अनिश्चितकालका लागि मतगणना रोकिएको जानकारी गराए ।
मतपत्र च्यातेको आरोपमा प्रहरीले दुईजना माओवादी कार्यकर्तालाई पक्राउ गरेको छ । तर, माओवादीले भने तानातानमा मतपत्र च्यातिएको दाबी गरिरहेको छ, नयाँ पत्रिकामा खबर छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले मतपत्र च्यातेको आरोपमा गिरफ्तार गरिएका दुईजनाविरुद्ध मंगलबार मुद्दा दर्ता गरेको छ । माओवादी केन्द्रका प्रतिनिधि मधुकर न्यौपाने र द्रोणबाबु शिवाकोटीविरुद्ध मुद्दा दर्ता भएको हो ।
चितवन प्रहरी प्रमुख एसपी दीपक थापाका अनुसार मंगलबार नै चितवन जिल्ला अदालतले अनुसन्धानका लागि सात दिनको म्याद दिएको छ ।
मतपत्र च्यातिएको घटनाबारे छानबिन गर्न गठित समितिले बुधबार निर्वाचन आयोगलाई प्रतिवेदन बुझाउँदै छ ।
समितिले प्रतिवेदन बुझाएपछि निर्वाचन आयोगले उचित निर्णय लिने बताइएको छ ।