
गण्डकी प्रदेशमा फेरि पृथ्वीसुब्बा गुरुङ नै मुख्यमन्त्री बन्ने संकेत देखापरेको छ ।
नेपाली कांग्रेस लगायत विपक्षी गठबन्धनले आफ्नो पक्षमा सरकार बनाउन बहुमत ३१ सदस्यको हस्ताक्षर बुझाउन नसक्ने देखिएपछि पुनः मुख्यमन्त्रीमा उनै दोहोरिने संकेत देखिएको हो ।
मंगलवार राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले नै कांग्रेस लगायतको गठबन्धनलाई साथ नदिने स्पष्ट पारेका छन् ।
राष्ट्रिय जनमोर्चा नेपालका गण्डकी प्रदेश अध्यक्ष शंकर बरालले पटक–पटकको छलफलमा पनि सांसद थापाले हस्ताक्षर गर्न नमानेको बताए ।
यसअघि पार्टी सचेतक पियारी थापाले सोमवार कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनका लागि हस्ताक्षर जुटाउन आफ्ना सदस्यलाई ह्वीप जारी गरेकी थिइन् । ह्वीप समेत अस्वीकार गरेका थापालाई पार्टीले के कस्तो कारवाही गर्ने भन्नेबारे छलफल हुन बाँकी रहेको बरालले बताए ।
नयाँ सरकार गठनमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीको रूपमा अघि सारिएको छ ।
वैशाख २७ गते संसदमा मत विभाजनको अघिल्लो दिन आइतवार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले ३ दिनभित्र सरकार गठनका लागि आह्वान गरेकी छन् । सोको समयसीमा बुधवार सकिँदैछ ।
सचेतक पियारी थापा नयाँ सरकार गठनका लागि लागिपर्दा संसदीय दलका नेता कृष्ण थापा मुख्यमन्त्री गुरुङप्रति लचिलो देखिँदै आएका छन् ।
गण्डकीमा नेकपा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका सभामुखबाहेक ११, राजमोका ३, जसपाका २ र स्वतन्त्र सांसद १ छन् । कांग्रेसलाई सरकार बनाउन माओवादी केन्द्र, राजमो र जसपाको साथ आवश्यक पर्छ ।
बहुमत जुटाउन नसके संविधानको धारा १६८(३) बमोजिम ठूलो दलको नेताका हैसियतले पृथ्वीसुब्बा गुरुङ पुनः मुख्यमन्त्री दोहोरिने छन् । उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।