
जनता समाजवादी पार्टी (जसपा) विभाजनउन्मुख हुँदा एकले अर्कालाई कारवाही गर्ने अभिव्यक्ति सार्वजनिक हुन थालेका छन् ।
जसपाका केन्द्रीय केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवले वैकल्पिक सरकार निर्माणका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित संयुक्त हस्ताक्षर गरेपछि उपेन्द्र यादवलाई कारवाही गर्नुपर्ने वरिष्ठ नेता राजेन्द्र महतोले बताएका छन् ।
पार्टीको आधिकारिक निर्णय नै नभएको अवस्थामा वैकल्पिक सरकार बनाउने भनेर लागेका उपेन्द्रलाई कारवाही गरेर पार्टीको साधारण सदस्य समेतबाट निस्कासन गरिने महतोले बताएका छन् ।
‘उनले विगतदेखि नै पूर्वसपा खेमाको नाममा प्रशिक्षण कार्यक्रम चलाउने लगायतका पार्टी विभाजनका काम गर्दै आएका थिए । अहिले पार्टीको लाइनविपरीत धारणा राखेर तथा पार्टीको निर्णयविपरीत सत्ता सहकार्यका लागि विज्ञप्ति समेत जारी गरेर उपेन्द्रले अक्षम्य अपराध गरेका छन्,’ महतोले भने, ‘पार्टी भनेको एउटा व्यक्ति उपेन्द्र यादवको मात्र होइन, पार्टी सबैको हो ।’
जसपाको प्रथम अध्यक्ष महन्थ ठाकुर रहेकाले उनको हस्ताक्षर मात्र पार्टीको आधिकारिक हस्ताक्षर हुने महतोको जिकिर छ ।
महतोले थपे, ‘पार्टीमा १० जना अध्यक्ष भए के सबै अध्यक्षको कुरा आधिकारिक हुन्छ त ? हुँदैन,’ महतोले भने, ‘जसपाले वैकल्पिक सरकार बनाउने निर्णय गरेको छैन, तटस्थ बसेर मधेश मुद्दा सम्बोधन गराउने जसपाको लाइन हो।’
ठाकुर निकटका जसपा नेता सुरेन्द्रकुमार झाले पनि जसपा अध्यक्ष उपेन्द्र यादवको हस्ताक्षरले पार्टीको निर्णय तथा हस्ताक्षरलाई सम्बोधन नगर्ने बताए । ‘वैकल्पिक सरकार बनाउने, त्यसका लागि गठबन्धन बनाउने भनेर एकल हस्ताक्षरमा वक्तव्य जारी गरिनु भनेको पार्टी हितविपरीत हो,’ झाले लोकान्तरसँग भने, ‘पार्टीमा त्यो विषय हालसम्म प्रवेश नै गरेको छैन, न त कुनै बैठकबाट उक्त प्रस्तावबारे निर्णय भएको छ ।’
वैकल्पिक सरकार निर्माण गर्ने कुरा कहीँ कतै नभएको र आवश्यक परे त्यसबारे राष्ट्रपतिलाई समेत पत्राचार गरिने उनले बताए ।
ठाकुर-महतो पक्षको यस्तो अभिव्यक्तिपछि उपेन्द्र यादव पक्ष पनि आक्रामक बनेको छ । उपेन्द्र यादवनिकट रहेका जसपा सांसद रामसहाय यादवले पार्टीको विधि र विधान मिच्ने ठाकुर र महतोलाई कारवाही गरिने बताए ।
‘पार्टीको कुन तहबाट पार्टी तटस्थ बस्ने निर्णय भएको छ? त्यो निर्णय गर्ने अधिकार उहाँलाई कसले दियो?’ जसपाका कार्यकारिणी समिति सदस्यसमेत रहेका यादवले लोकान्तरसँग भने, ‘पार्टीको कार्यकारिणी बैठक बसौं भनेर भन्दा बैठक नै नबस्ने, आफूखुशी निर्णय गरेर प्रतिगमनकारी ओली (प्रधानमन्त्री केपी शर्मा ओली)को शरणमा दिनरात बालुवाटार धाउने ठाकुर- महतोलाई कारवाही हुन्छ।’
यद्यपि अहिले पनि केही नबिग्रिसकेको र पार्टीको कार्यकारिणी समिति बैठक बसेर ती सबै कुराको समीक्षा गरी अगाडि जान सकिने उनले बताए ।
उपेन्द्र यादव खेमामा रहेका जसपाका अर्का नेता एवं केन्द्रीय कार्यकारिणी समिति सदस्य योगेन्द्रराय यादवले पनि उपेन्द्र यादवलाई नभएर महन्थ ठाकुर र राजेन्द्र महतोलाई कारवाही गरिने बताए।
महतोको अभिव्यक्तितर्फ लक्षित गर्दै उनले भने- ‘उहाँले आफ्नो पद, हैसियत र अधिकार क्षेत्रभन्दा बाहिरको कुरा गरेर उपेन्द्रजीलाई कारवाही गरिने बताउनुभएको छ,’ यादवले भने, ‘कुन नेतालाई कारवाही गर्ने कि पुरस्कृत गर्ने भन्ने कुरा पार्टीको राष्ट्रिय महाधिवेशन, राष्ट्रिय परिषद, केन्द्रीय कार्यकारिणी समिति, केन्द्रीय समिति लगायतका निकायले तय गर्ने हो।’
‘ओली सरकारसँग वार्ता गर्नका लागि सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण सम्मिलित कार्यदल बनाउने निर्णय पार्टीको कुन तहबाट भएको थियो?’ २ नम्बर प्रदेश सरकारमा राज्यमन्त्री समेत रहेका यादवले भने, ‘ओली सरकारको विरोधमा आन्दोलन गरिरहेको जसपाको कुन बैठकबाट ओली सरकारको दरबारमा दिनरात गएर कुरा गर्ने निर्णय भयो ?'
कारवाही गर्ने हो भने दिनरात बालुवाटार धाउने ठाकुर र महतोलाई कारवाही हुनुपर्ने उनको कथन छ।
प्रथम अध्यक्ष वा द्वितीय अध्यक्षमध्ये कुन अध्यक्ष कति शक्तिशाली छन् भन्ने कुरा पार्टीको विधानमा कहीँ पनि उल्लेख नभएको उनले बताए ।
पार्टी विधानको धारा १८(१)मा पार्टीद्वारा तत्काल सम्पादन गर्ने विषय केन्द्रीय कार्यसमितिको प्रमुख कार्यभार हुने र धारा १८ (२)मा केन्द्रीय कार्यकारिणी समिति ५३ सदस्यीय हुने उल्लेख भएको यादवले बताए। ‘उक्त कार्यकारिणी समितिमा पार्टीको संघीय परिषद अध्यक्ष-१, केन्द्रीय समिति अध्यक्ष -२ सहित आवश्यकता अनुसार वरिष्ठ नेता, सह-अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव, कोषाध्यक्ष हुनेछ भन्ने कुरा मात्र उल्लेख छ,’ यादवले भने, ‘कहीँ पनि १ नम्बरको अध्यक्ष र २ नम्बरको अध्यक्ष हुनेछ भनेर पार्टीको विधानमा व्याख्या नै छैन। दुईवटै अध्यक्षको हैसियत विधानतः समान रहने उल्लेख छ ।’
प्रथम अध्यक्ष र द्वितीय अध्यक्ष भन्नु नै गलत भएको उनको जिकिर छ ।