सुनसरी, १३ पुस - अम्पायरले चौका नदिएपछि एपिएफको महिला क्रिकेट टोलीले फाइनल खेल बहिष्कार गरेको छ । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको स्वर्ण पदक भिडन्तमा मंगलबार राष्ट्रिय खेलाडीले भरिपूर्ण एपिएफले पूर्वाञ्चलको सामना गरेको थियो । एपिएफले खेल बहिष्कार गरेपछि प्राविधिक टोलीले पूर्वाञ्चललाई च्याम्पियन घोषणा गरेको छ । एपिएफका खेलाडीले रजत पदकसमेत बहिष्कार गरे, आजको नयाँ पत्रिकामा खबर छ ।
पूर्वाञ्चलले एपिएफलाई ६५ रनको लक्ष्य दिएको थियो । एपिएफलाई अन्तिम १२ बलमा १३ रन चाहिएको थियो । एपिएफसँग दुई विकेट बाँकी थियो । लक्ष्य पछ्याएको इनिङको १८औँ ओभरमा पूर्वाञ्चलकी कप्तान कविता गौतमले बलिङ गरेकी थिइन् । १८.४ बलमा एपिएफकी रितु कनौजियाले आकर्षक सट प्रहार गरिन् । बाउन्ड्री लाइनमा पूर्वाञ्चलकी फिल्डर अप्सरा वेगमले रितुद्वारा प्रहार बल समात्न सकिनन् । बल बाउन्ड्री घेरिएको डोरीनजिक खस्यो । त्यसपछि वेगम बललाई खुट्टाले रोक्दै बाउन्ड्री बाहिर गइन् र डोरी नाघ्दै बल टिप्दै क्रिजतर्फ फ्याँकिदिइन् ।
अम्पायर अधिद प्रधानले वेगमलाई बलले बाउन्ड्री लाइनको डोरीमा छोएको वा नछोएको भनी सोधे । वेगमले बल बाउन्ड्री लाइनभन्दा बाहिर नगएको बताइन् । अम्पायर प्रधानले वेगमकै कुरा सही माने । यतिवेलासम्म एपिएफका खेलाडी शान्त नै थिए । एपिएफले थप दुई बल खेल्यो । गौतमले दुवै बल वाइडका रूपमा फ्याँकिन् ।

अनि सुरु भयो विवाद
पूर्वाञ्चलकी खेलाडी गौतमले १८औँ ओभरको अन्तिम दुई बल वाइड फ्याँकेपछि एपिएफका खेलाडी विवादमा उत्रिए । अम्पायर र विपक्षी खेलाडीबीच मिलेमतो भएको दाबी गर्दै एपिएफका खेलाडीले मैदान छाडे । आयोजक र प्राविधिक पक्षले एपिएफका खेलाडीलाई सम्झाउने धेरै कोसिस गरेका थिए । आधा घन्टासम्म पनि एपिएफका खेलाडी मैदानमा आएनन् । फाइनल खेलका म्याच कमिस्नर सत्यजित सरकारले अन्तिम चेतावनी दिँदै एपिएफलाई पाँच मिनेटभित्र मैदानमा फर्कन र खेल्न आग्रह गरे । तर, एपिएफका ब्याट्सम्यान क्रिजमा फर्केनन् । म्याच कमिस्नर सरकारले पूर्वाञ्चललाई चार रनले विजयी घोषणा गरे ।
एपिएफका खेलाडी अपशब्द बोल्दै मैदानबाट बाहिरिए
म्याच कमिस्नर सरकारले पूर्वाञ्चललाई विजयी घोषणा गरेपछि एपिएफका खेलाडी थप आक्रोशित भए । पूर्वाञ्चलका खेलाडीलाई अपशब्द प्रयोग गर्दैै एपिएफका खेलाडी मैदानबाट बाहिरिए । राष्ट्रिय टोलीकै सिनियर क्रिकेटर सीता रानामगरले विपक्षी खेलाडीलाई ‘माझी औँला’ देखाउँदै अपशब्द प्रयोग गरिन् । पूर्वाञ्चलका खेलाडीले एपिएफका खेलाडीहरूको व्यवहारप्रति कुनै प्रतिक्रिया भने दिएनन् ।
एपिएफका खेलाडीहरूको रिस त्यतिमै सीमित रहेन । उनीहरूले पूर्वाञ्चलका खेलाडीलाई पैसाको लोभी भन्ने आरोपसमेत लगाए ।