०१ असार २०८३, सोमबार

अक्सिजन आपूर्ति सहज बनाउन प्रयासः भए यस्ता निर्णय

बैशाख २८, २०७८
अक्सिजन आपूर्ति सहज बनाउन प्रयासः भए यस्ता निर्णय

उपप्रधानमन्त्री ईश्वर पोखरेलले अस्पतालहरुमा अक्सिजन आपूर्ति सहज बनाउने पहल स्वरुप मंगलबार निजी क्षेत्रसँग छलफल गरेका छन् ।
उपप्रधानमन्त्री पोखरेलले उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, ग्यास उत्पादक, सरकारी तथा निजी क्षेत्रका अस्पतालका प्रतिनिधिहरूसँग प्रधानमन्त्री कार्यालयमा बैठकको आयोजना गरेका हुन् ।  अक्सिजन उद्योगहरुलाई पूर्ण क्षमतामा कसरी संचालन गर्ने, अक्सिजन वितरण प्रणालीलाई कसरी चुस्त बनाउने लगायतका विषयमा छलफल भएको थियो । 

बैठकले अक्सिजन उद्योगलाई पूर्ण क्षमतामा संचालन गर्न उद्योग मन्त्रालयले आवश्यक सहयोग गर्ने निर्णय गरेको छ भने अक्सिजन सिलिण्डर वितरण प्रणालीलाई वस्तुपरक बनाउनका लागि बिरामीको संख्या, अक्सिजन चाहिने बिरामी, अक्सिजन उत्पादन गर्ने उद्योगहरु, अस्पतालबीच समन्वय गर्ने निर्णय भएको छ । 

यसैगरी, छिटो माध्यमबाट अक्सिजन प्लान्ट गर्नका लागि आवश्यक सम्पूर्ण समन्वय र सहजीकरण गर्ने निर्णय भएको छ । निजी क्षेत्रका ठूला अस्पतालहरुमा आफ्नै अक्सिजन प्लान्ट नहुँदा अहिलेको समस्या आइपरेको हो । काठमाडौं उपत्यका र काभ्रेमा गरी अहिले ९ वटा अक्सिजन उद्योगहरु छन् । १५ हजार लिटर भन्दा बढी माग भए पनि अहिले ७ हजार २ सय लिटरमात्रै उत्पादन क्षमता रहेको छ । निजी अस्पतालको आफ्नै अक्सिजन प्लान्ट नभएका कारण अधिकांश निजी अस्पतालहरू यिनै उद्योगमा निर्भर हुनुपर्ने अबस्था छ । 

सिसिएमसीका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले संकटको अबस्था रहेकाले सबै मिलेर समस्याको समाधान गर्नुपर्ने बताए । 

सिसिएमसीले अक्सिजन ग्यासको विद्यमान समस्या समाधान गर्ने उद्देश्यले बिभिन्न प्रयासहरु गरेको छ । काठमाडौं उपत्यका र बनेपामा रहेका उद्योगहरुहरुको अनुगमन गरी विवरण संकलन तथा समस्या र सम्भावना समेतको समिक्षा गरिएको छ भने सबै उद्योगहरुमा सुरक्षाकर्मी खटाइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्