१० असार २०८३, बुधबार

४५ दिन भेन्टिलेटरमा बसेर फर्किएका हरि, चमत्कार भयो भन्दै रमाए चिकित्सक

बैशाख २९, २०७८
४५ दिन भेन्टिलेटरमा बसेर फर्किएका हरि,  चमत्कार भयो भन्दै रमाए चिकित्सक

हरि रिमाललाई भेटेपछि आफन्त र साथीभाइ अचम्म मान्छन् । धेरैले चमत्कारै भएको बताउँछन् । रूपन्देहीको बुटवल–११ देवीनगरका ३९ वर्षीय रिमाललाई गत मंसिर २१ गते कामबाट फर्किएपछि ज्वरो आयो ।

श्रीमती अरुणाले नजिकैको पसलबाट औषधि किनेर खुवाइन् । त्यसले सुधार देखिएन । खोकी सुरु भयो । चार दिनपछि कोरोना आशंकामा स्वाब परीक्षण गर्न लुम्बिनी प्रादेशिक अस्पताल पुगे । साँझ रिपोर्ट पोजिटिभ आयो ।

संक्रमण पत्ता लागेपछि सावधानी अपनाएर घरमै आइसोलेसनमा बसे । त्यसको तीन दिनपछि श्वासप्रश्वासमा समस्या देखियो । ‘आत्तिएर लुम्बिनी प्रादेशिक अस्पताल गएँ,’ रिमालले भने, ‘त्यहाँ शय्या छैन भन्ने जवाफ सुन्नेबित्तिकै बेहोस भएँ ।’ श्रीमती र भाइले त्यसै राति भैरहवाको भीम अस्पताल पुर्‍याए । त्यहाँ आईसीयू बेड पाएपछि केही राहत मिल्यो । भीममा तीन दिन राखे पनि अवस्था ज्युँकात्युँ थियो ।

त्यसपछि श्रीमती अरुणाले काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल लैजाने निधो गरिन् । भीम अस्पतालबाट टेकु पुर्‍याउँदासम्म हरि अन्जान थिए । टेकु पुर्‍याएर उपचार थालेपछि उनलाई स्ट्रोक (प्यारालाइसिस) देखियो । शुक्रराजमा उपचार सम्भव नभएकाले चिकित्सकले वीर अस्पताल जान सल्लाह दिएको अरुणाले बताइन् । ‘टेकुमा चार दिन उपचार गरेपछि वीरमा पुगियो,’ उनले भनिन्, ‘डाक्टरले बाँच्ने सम्भावना कम छ भनिरहेका थिए । तर मनले बचाउन सकिन्छ जस्तो लागिरहेको थियो ।’ नाबालक दुई छोरा छाडेर अरुणा भाइ र आमासँगै काठमाडौं पुगेकी थिइन् ।

वीर अस्पताल पुर्‍याएपछि हरिलाई भेन्टिलेटरमा राखेर उपचार थालियो । परिवारले उनलाई देख्न पाएनन् । अस्पताल परिसरमा दिनभर बस्ने, औषधि ल्याउने, चिकित्सक राउन्डमा आउँदा कस्तो छ भनेर हालखबर बुझ्ने गर्न थाले । ‘४० दिन पुग्दासम्म अवस्था नाजुक छ, घर लैजाने भए निकालिदिन्छौं भनिरहेका थिए,’ उनले भनिन्, ‘हामीले आस मारेनौं ।’ धैर्यताले काम गर्‍यो । ४३ औं दिनमा चिकित्सक र नर्सले सुधार देखिन थालेको बताए । ‘४५ औं दिनमा होस खुल्यो,’ अरुणाले भनिन्, ‘सबै अचम्म परे । चिकित्सक र नर्स पनि चमत्कार भएको भन्दै रमाए ।’ कान्तिपुरमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्