
भक्तपुरका अस्पतालहरूमा अक्सिजन सकिँदा भर्ना भएका बिरामीलाई बचाउन र नयाँ बिरामी भर्ना गर्न कठिन भएको छ ।
अक्सिजन नभएकै कारण जिल्लाका अधिकांश अस्पतालले कोभिड–१९ संक्रमणका बिरामी भर्ना लिन छाडेका छन् भने भक्तपुर अस्पताल र नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा भर्ना भएका बिरामीलाई बचाउन पनि मुस्किल परेको छ ।
जिल्लावासीका एउटै आधार बनेको भक्तपुर अस्पतालमा मंगलवार साँझदेखि नै अक्सिजन सकिँदा निकै समस्या परेको छ । अक्सिजनका लागि २४ घण्टा अघिदेखि नै अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुमित्रा गौतमदेखि अस्पताल प्रशासनसम्म भौंतारिए पनि अक्सिजन पाउन सकेनन् । मेसु डा. गौतमले अक्सिजन कम्पनीदेखि सीसीएमसी, स्वास्थ्य मन्त्रालय, प्रदेश मन्त्रालयसम्मलाई दिनभर हारगुहार गर्दा पनि अक्सिजन नआएपछि समस्या परेको बताए ।
सगरमाथा अक्सिजन कम्पनीबाट विगतमा अक्सिजन ल्याउने गरेको भक्तपुर अस्पतालले त्यहाँबाट पनि अक्सिजन पाउन छाडेपछि जनकपुरदेखि अक्सिजन ल्याउन शुरू गरेको थियो । तर जनकपुरबाट पनि अक्सिजन सहजरूपमा पाउन छाडेको र टाढाबाट ल्याउँदा कम्तीका २ दिन लाग्ने हुँदा अक्सिजन अभावले अस्पताल भर्ना भएका कोभिडका बिरामीको ज्यान नै जोखिममा परेको छ ।
सीसीएमसीको लापरवाहीका कारण थप समस्या परेको हो । भक्तपुर अस्पताललाई प्रदेशस्तरीय अस्पताल भन्दै सीसीएमसीले अक्सिजन वितरणको सिफारिसमा २ दिनदेखि नाम हटाइदिएपछि भक्तपुर अस्पतालले अक्सिजन पाउन नसक्दा दुर्घटनाको अवस्थामा पुगेको अस्पताल प्रशासनको भनाइ छ ।
भक्तपुर अस्पतालले हाल ३३ शय्या जनरल, ४० शय्या हाइकेयर युनिट, ६ शय्या आईसीयू, आकस्मिक कक्ष र टेन्टमा समेत शय्या राखेर ७० कोभिडका बिरामीको उपचार गरिरहेको मेसु डा. गौतमले जानकारी दिए । सबै बिरामीलाई हाइफ्लोरको अक्सिजन दिनुपर्ने भएकाले भक्तपुर अस्पतालमा २४ घण्टामा २०० सिलिण्डर अक्सिजन खपत हुने गरेको छ । विगतमा सगरमाथा कम्पनीबाट अक्सिजन आपूर्ति गर्दै आएको अस्पतालले त्यहाँ नपाएपछि बालाजुको अक्सिजन कम्पनीबाट समेत अक्सिजन पाएन ।
त्यसपछि जनकपुरबाट ल्याएको ८० सिलिण्डर अक्सिजन सकिएको र अरु अक्सिजन नआएपछि मंगलवार साँझदेखि नै अक्सिजनको अभाव भएको हो ।
डा. गौतमले भने, ‘उपत्यकामा अक्सिजन नपाएपछि जनकपुरदेखि ल्याउन थाल्यौं, अब त्यहाँबाट पनि सहज नपाइने भयो, सरकार ७० शय्याको हाइकेयर युनिट चलाऊ भन्छ तर अक्सिजन छैन, भर्ना भएका बिरामीलाई अक्सिजन नभएको अवस्थामा नयाँ बिरामीलाई कसरी भर्ना गर्ने ?’
सीसीएमसीले बल्ल कान्तिपुर अक्सिजन कम्पनीमा जान भने पनि त्यहाँ अक्सिजन नै नभएको भन्दै फर्काएपछि बिरामी बचाउन चिकित्सकलाई हम्मे परेको छ । – रमेश गिरी/रासस