२२ जेठ २०८३, शुक्रबार
कोरोना संक्रमितहरू उपचाररत अस्पतालमा पुग्दा

‘ग्राउन्ड जिरो’ टेकु अस्पताल : भाग १ – यहाँ त अर्कै संसार रहेछ, डाक्टरको मायाले नै बाँचियो !

बैशाख २९, २०७८
‘ग्राउन्ड जिरो’ टेकु अस्पताल : भाग १ – यहाँ त अर्कै संसार रहेछ, डाक्टरको मायाले नै बाँचियो !

‘तपाईं डराउनुपर्दैन, निको हुन्छ । हेर्नुस् त, दिनमा ३/४ हजार मान्छे निको भएर घर गएका छन् । सबैभन्दा ठूलो कुरा आत्मबल हो ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बास्तोला अस्पतालको इमर्जेन्सी कक्षबाहिर सिँढीमा अक्सिजन लिइरहेका काठमाडौं महानगरपालिका– १६ वनस्थलीका आनन्दराज खनियाँलाई सम्झाउँदै थिए ।

‘हैन अलिक डर लागेको छ डाक्टर सा’ब, अक्सिजन लेभल अलि तल झरेको छ,’ आनन्दराजले डा. बास्तोलालाई भने ।

डाक्टरले उनलाई ढाडमा थप्थपाउँदै भने, ‘आत्तिनु पर्दैन, हिजो अस्पताल आउँदाभन्दा आज धेरै निको भएको देखेका छु । हेर्नुस्, आज २ मा अक्सिजन चलाएपनि भएको छ ।’

त्यसपछि आनन्द केही मुस्कुराए । सँगै रहेकी उनी श्रीमती सीता पाण्डे खनियाँले सम्झाउन थालिन् ।

‘डाक्टर‘साबले भनेको बुझ्नु भो नि ? केही हुँदैन । हिजोदेखि म तपाईंसँगै छु त,’ श्रीमतीले यसो भन्दै गर्दा उनले आँखामा हेरिरहे ।

‘डाक्टर सा’बले माया गर्नुभएको छ । माया गरेर भन्नुभएको,’ सीताले आनन्दलाई सम्झाइन् ।

डा. बास्तोलाले उनलाई घोप्टो परेर अक्सिजन लिने तरिका सिकाए । 

आनन्दले केही समय घोप्टो परेर अक्सिजन लिने अभ्यास गरे । सहज भएपछि उनी मुस्कुराए । त्यसपछि उनी श्रीमतीसँग गफिन थाले ।

***

अस्पतालको आकस्मिक कक्षबाहिर सिँढीमा अक्सिजन लिइरहेका अन्य बिरामीलाई पनि डा. बास्तोलाले सम्झाइरहेका थिए ।

अक्सिजन कसरी लिने भन्ने कुरा पनि सिकाइरहेका थिए । त्यसपछि बिरामीको आत्मबल बलियो भएको देखिन्थ्यो । 

६० वर्ष हाराहारीका एक बिरामीलाई त उनले अंगालो हालेर सम्झाए, ‘हेर्नुस्, आत्तिने कुनै कुरा छैन, अस्पतालमा हुनुहुन्छ । अक्सिजन पनि लगाइरहनुभएको छ ।’

ती बिरामीलाई अक्सिजन कसरी लिने भन्नेबारे सिकाए । उनका आफन्तले १० दिनदेखि खाना नै नखाएको कुरा बास्तोलालाई जानकारी गराए ।

‘उहाँले १० दिनदेखि चिन्ताले खाना नै खानुभएको छैन्,’ आफन्तले डाक्टर बास्तोलासँग भने । 

‘खाना खानुस्, इम्युनिटी पावर चाहियो नि !’ डा. बास्तोलाले उनलाई सम्झाउँदै भने, ‘हेर्नुस्, तपाईंको अक्सिजन लेभल ८० थियो, अहिले ९० भइसकेको छ, केहीबेरमा अझै बढ्छ ।’ 

डाक्टरले यति सम्झाएपछि ती बिरामीले खाना खाए ।

‘डाक्टरसा’ब अब खान्छु, स्वाद नभएर नखाएको हो,’ ती बिरामीले भने । यतिबेरसम्म अक्सिजन लेभल *९५ भन्दा माथि पुगिसकेको थियो ।

कोरोना भाइरसको संक्रमण भएका बिरामीलाई अन्य मानिसले हेर्ने दृष्टिकोणका कारणले मानिसहरूको आत्मबलमा कमी हुन गरेको र आत्मबल बढाउँदा अक्सिजन लेभल पनि वृद्धि हुने गरेको टेकु अस्पतालका आकस्मिक कक्ष इञ्चार्ज जनस्वास्थ्य निरीक्षक लीलानाथ भण्डारीले बताए ।

‘अहिले कोरोना लागेका बिरामीलाई समाज र घर परिवारले गर्ने व्यावहारले गर्दा बाँचिदैन भन्ने भावना हुँदा आत्मबल गिरेको छ,’ इञ्चार्ज भण्डारीले लोकान्तरसँग भने, ‘डाक्टरको राम्रो व्यवहार र मायाले उनीहरूमा निकै ऊर्जा मिलेको हामीले पाएका छौं ।’

टेकु अस्पतालका डाक्टरहरूले आफू संक्रमित हुने डरभन्दा पनि बिरामीलाई बचाउने र उनीहरूमा ऊर्जा थप्ने काम गरिरहको भण्डारीले बताए ।

टेकुमा रहेका डाक्टरहरूले गरेको व्यवहारले आफ्नो श्रीमान्मा देखिएको उत्साहलाई वर्णन गर्न पनि नसक्ने वनस्थलीकी सीता पाण्डे खनियाँले बताइन् ।

‘आधा रोग त डाक्टरहरूले गरेको व्यवहारले निको पारेको देखेँ’, खनियाँले लोकान्तरसँग भनिन्, ‘उहाँलाई हिजो ४ वटा अस्पतालमा लगें, छुँदा पनि मरिहालिन्छ झैँ गरे, यहाँ आउँदा त अर्कै संसार हो कि जस्तो लाग्यो ।’

आएका बिरामीलाई फर्काएका छैनौंः टेकु अस्पताल

कोरोना भाइरसका संक्रमण भएर आएका र अक्सिजन चाहिने बिरामीलाई फिर्ता नपठाएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका जनस्वास्थ्य निरीक्षक लीलानाथ भण्डारीले बताए  ।

‘हामीले आएका बिरामीलाई फर्काएका छैनौं,’ भण्डारीले लोकान्तरसँग भने, ‘हामीले कुर्सीदेखि बेञ्च र भुइँमा म्याट्रेस ओच्छ्याएर पनि उपचार गरिरहेका छौं ।’

अस्पतालमा आएका बिरामीलाई भएको ठाउँमा जसरी सकिन्छ, त्यसरी नै व्यवस्थापन गरिरहेको अस्पतालले जनाएको छ ।

‘हामीले अब इमर्जेन्सी अगाडि टेन्ट टाँगेर उपचार गर्ने तयारी गरिरहेका छौं,’  जनस्वास्थ्य निरीक्षक भण्डारीले बताए ।

उनका अनुसार आकस्मिक कक्षमा ५ वटा बेड भएको ठाउँमा ४० जना बिरामीलाई उपचार गरिरहेको बताए ।

फोटो : विश्वास खनाल/लोकान्तर

(अक्सिजन लेभल ९५ हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।)

salt training

कमेन्ट गर्नुहोस्