
भारतको मध्य प्रदेशकी मन्त्री उषा ठाकुरले दिनदिनै यज्ञमा दुईदुई आहुति दिँदा कोरोनाको तेस्रो लहर देशमा नआउने बताएकी छन् ।
बुधवार कोभिड सेन्टर उद्घाटनको अवसरमा उनले सञ्चारकर्मीहरूलाई यो कुरा बताएकी हुन् । तेस्रो लहरका विषयमा आफूहरू सचेत रहेको र त्यसलाई नियन्त्रण गर्ने उनको भनाइ छ ।
यज्ञमार्फत वातावरण शुद्ध पारेमा बिहान १० बजे दिनदिनै आहुति हाल्न उनले भनेकी हुन् ।
महामारीको विनाशका लागि अनादिकालदेखि यज्ञको पावन परम्परा रहेको उनको भनाइ छ । यज्ञ चिकित्सा भएको र यो कुनै धर्मान्धता वा कर्मकाण्ड मात्र नभएको उनले बताइन् ।
संस्कृति तथा पर्यटन मन्त्री उषा ठाकुरले मास्क नलगाएको विषयमा पनि अनौठो तर्क गरेकी छन् । भोपाल विधानसभा भवनमा मास्क नलगाई आउँदा उनले भनेकी थिइन्, ‘म त दिनदिनै हनुमान चालीसा पाठ गर्छु । दिनहुँ शंख बजाउँछु । काडा पिउँछु । गोबरको वेदीमा हवन गर्छु । यसले रोगप्रतिरोधक क्षमता बढ्छ । कोही मानिस नजिक आयो भने मुखलाई गम्छाले ढाक्छु । मलाई के कोरोना लाग्थ्यो र ?’