अमेरिकाको न्युजर्सीमा बनाइएको विशाल हिन्दू मन्दिरमा भारतबाट दलित समुदायका मानिसलाई एकदमै कम ज्याला दिएर काममा खटाइएको पाइएको छ ।
उनीहरूलाई हप्ताको ९० घन्टा काममा खटाइएको थियो । एफबीआईले घटनाको अनुसन्धान गरिरहेको छ ।
मंगलवार संघीय अदालतमा दायर गरिएको मुद्दामा बोचासानवासी अक्षर पुरुषोत्तम स्वामीनारायण संस्था तथा त्यसका शीर्ष अधिकारीविरुद्ध जबर्जस्ती श्रममा लगाउने काम, मानव तस्करी र ज्याला कम दिने काम गरिएको आरोप छ ।
‘यो अत्यन्तै आघातपूर्ण अनुभव थियो,’ कामदारहरूका तर्फबाट बहस गर्ने वकिल प्याट्रिसिया काकालेकले बताइन् । ‘मैले आप्रवासी कृषि मजदूर, कम ज्याला पाउने कामदारका लागि वकालत गरेकी छु तर यो जति स्तब्ध बनाउने घटना कुनै छैन ।’
एफबीआईले आफू अदालतको अनुमतिका साथ मन्दिर परिसर प्रवेश गरेको जानकारी दियो तर विस्तृत विवरण उपलब्ध गराएन ।
न्युजर्सीमा यूइस डिस्ट्रिक्ट कोर्टमा ६ जना कामदारले मुद्दा दायर गरेका हुन् । निवेदनमा उल्लृेख भएअनुसार, कम्तीमा २०० जना भारतीयहरूले मन्दिर निर्माणमा हाड घोटेका थिए ।
उनीहरूलाई घन्टाको जम्मा १.२० डलर उपलब्ध गराइएको थियो । दलित तथा सीमान्तीकृत समुदायका मानिसलाई विभिन्न प्रलोभन दिएर अमेरिका ल्याइएको बताइएको छ । मन्दिर अझै निर्माणाधीन छ ।
निवेदनमा कामदारलाई बाँकीबक्यौता रकम उपलब्ध गराउन र क्षतिपूर्ति समेत दिन माग गरिएको छ ।
मन्दिर बनाउने संस्थाका प्रमुख कार्यकारी कानु पटेलले कामदारलाई ज्यालामा ठगेको भन्ने दाबी अस्वीकार गरेका छन् ।
संस्थाका प्रवक्ता लेनिन जोशीले पनि आरोपहरूको खण्डन गर्दै सबै तथ्य सार्वजनिक गरेपछि उत्तर दिने बताए ।