
इजरायल र हमासबीच गाजामा भइरहेको युद्धमा परी प्यालेस्टानका सर्वसाधारणलाई ज्यान बचाउन धौधौ परेको छ ।
सोमवार रातिदेखि दुवै पक्षबीच अनेकौं आक्रमण प्रत्याक्रमण भएका छन् ।
विगत केही वर्षयताको यो सबभन्दा खराब द्वन्द्व हो ।
इजरायलको दक्षिणमा रहेको अश्कलोन शहरमा गाजाबाट गरिएको रकेट आक्रमणका कारण क्षति पुगेको छ ।
हमासका विद्रोहीहरूले उक्त क्षेत्रमा बस्नेहरूको जिन्दगी नरक बनाइदिने चेतावनी दिएकाले स्थानीयहरू डराएका छन् ।
त्यहाँ घरिघरि साइरन बज्छ र मानिस लुक्नका लागि ठाउँ खोजिरहेका हुन्छन् ।
त्यहाँ गाजाबाट प्रहार गरिएका अधिकांश रकेटलाई इजरायलले आइरन डोम मिसाइल डिफेन्स सिस्टममार्फत रोक्ने गरेको छ ।
त्यसपछि आकाशमा विस्फोटको चर्को आवाज सुनिन्छ र आकाशमा धूवाँको रेखा कोरिन्छ ।
आइरन डोमले रोके पनि कतिपय रकेटहरू सीधै भवनहरूमा आएर खसेका छन् । यी आक्रमणमा परी दुई महिलाको मृत्यु भएको छ भने धेरै मानिस घाइते भएका छन् ।
हालैका वर्षमा इजरायलले भवनमा बम आक्रमणबाट बच्नका लागि उचित व्यवस्था गर्ने नियम बनाएको छ । तर कतिपय पुराना भवनमा यस्तो व्यवस्था छैन ।
एक महिलाले बताएअनुसार, एउटा क्षेप्यास्त्र उनको घरमा खस्यो र उनी दराजमा लुकिन् ।
युद्ध सकिने आशा मानिसहरूले गरिरहेका छन् ।