अमेरिकामा १२० भन्दा बढी सेवानिवृत्त सैनिकहरूले राष्ट्रपति जो बाइडनको मानसिक स्थितिको चिन्ता गर्दै खुलापत्र लेखेका छन् । अनि राष्ट्रपति निर्वाचनमा धाँधली भएको पनि उनीहरूले दाबी गरेका छन् ।
पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले व्यापक रूपमा चुनावमा धाँधली गरिएको भनी दाबी गरे झैं पूर्वसैनिकहरूको पनि दाबी आएको छ ।
‘निष्पक्ष र इमान्दारले जनताको इच्छा प्रतिबिम्बित गर्छ र त्यसको अभावमा संवैधानिक गणतन्त्र गुम्छ,’ पूर्वसैनिकहरूको पत्रमा उल्लेख गरिएको छ ।
पूर्वसैनिकहरूको समूहले आफूलाई फ्ल्याग अफिसर्स फर अमेरिका नाम दिएको छ र त्यसमा जनरल तथा एड्मिरल सहितका सेवानिवृत्त अधिकारीहरू रहेका छन् ।
उनीहरूको खुलापत्र पोलिटिको पत्रिकाले प्रकाशन गरेको हो ।
उनीहरूले बाइडनको मानसिक क्षमताका विषयमा पनि शंका व्यक्त गरेका छन् ।
‘कमान्डर इन चीफको मानसिक तथा शारीरिक स्थितिलाई बेवास्ता गर्न मिल्दैन । उनले रातदिन नभनिकन चाँडो र सही राष्ट्रिय सुरक्षासम्बन्धी निर्णयहरू गर्नुपर्छ,’ उनीहरूले लेखे ।
‘संसद्की सभामुख न्यान्सी पेलोसीले न्युक्लीयर कोडका प्रक्रियाका विषयमा गरेको सोधनीले आणविक शक्तिसम्पन्न शत्रुहरूलाई संकेत जान्छ र को सर्वोच्च कमान्डमा छ भन्ने विषयमा प्रश्न उठ्छ । हामीसँग जहिले पनि प्रश्न उठाउन नमिल्ने चेन अफ कमान्ड हुनुपर्छ,’ पत्रमा लेखिएको छ ।