
सलमान खानको नयाँ फिल्म 'राधे : योर मोस्ट वान्टेड भाइ' नयाँ बोतलमा पुरानो रक्सी जस्तै छ । फिल्म त नयाँ हो तर यसका मसलाहरू सबै पुराना हुन् ।
निर्देशक प्रभु देवाले तमिल र तेलुगु फिल्मका स्टाइल यसमा पस्केका छन् । लकडाउनका कारण घरैमा बस्न बाध्य मानिसहरूलाई धाँसु मनोरञ्जन दिनका लागि फिल्म डिजिटल प्ल्याटफर्ममा सार्वजनिक गरिएको छ ।
सलमान खानले निर्माता र कलाकारका रूपमा मनोरञ्जन दिने पूरा कोशिश गरेका छन् । दिशा पाटनी उनीसँग जोडी बाँध्न आइपुगेकी छन् । रणदीप हुड्डा फिल्मका खलनायक हुन् तर उनको अभिनयमा नाटकीयता देखिन्छ ।
दबंगपछि फेरि एकपटक सलमानलाई प्रहरीको भेषमा देखिएको छ । बर्दी नलगाउने इन्काउन्टर स्पेसलिस्टको भूमिकामा उनी छन् । मुम्बईको ड्रग माफियाको आतंकसँग राधेको भिडन्त फिल्मको कथा हो ।
राधेले आफ्ना हाकिम अविनाश अर्थात् ज्याकी श्रोफसँगको सहकार्य, अविनाशकी बहिनी दिया (दिशा पाटनी) सँगको रोमान्स, गीत र कमेडी अनि फाइटमा समय बिताएका छन् ।
वान्टेड फिल्ममा जस्तै धुवाँधार संवाद, कमेडी दृश्य, छोटा कपडा लगाएकी हिरोइन, सलमान खानको स्टाइल सबै फिल्ममा हेर्न पाइन्छ । सलमानका प्रशंसकहरूका लागि यसमा सबै मसला छ । तर अरूले यसमा केही रमाइलो कुरा भेट्दैनन् ।
सलमानले टीभीमा चलाउने रियालिटी शो बिग बोसका कतिपय सहभागीलाई पनि फिल्ममा मौका दिएका छन् ।
फिल्ममा धेरै मसला भएकाले स्वाद अलि चर्कै छ ।