सगरमाथा आरोहणका लागि गएका एक अमेरिकी तथा एक स्विस आरोहीको थकानका कारण मृत्यु भएको आरोहण आयोजकहरूले जनाएका छन् ।
अमेरिकाका पुवेइ लिउ र स्विट्जरल्यान्डका अब्दुल वाराइच तल झर्ने क्रममा बुधवार बितेको सेभेन समिट ट्रेक्सले जनाएको छ ।
‘थप शेर्पाहरूलाई बन्दोबस्ती तथा अक्सिजनका साथ पठाइएको थियो तर उनीहरूलाई बचाउन सकिएन,’ उक्त संस्थाका व्यवस्थापक थानेश्वर गुरागाइँले बताए ।
वाराइच शिखरमा पुगेर फर्कने क्रममा बितेको छाङ दावा शेर्पाले बताए ।
लिउको मृत्यु साउथ कोलमा भएको थियो । उनी हिलारी स्टेपसम्म पुगेका थिए तर हिउँका कारण आँखा नदेखेर अनि थकान भएकाले उनी माथि जान सकेनन् ।
उनलाई सपोर्ट टीम र थप अक्सिजनका साथ साउथ कोल ल्याइएको थियो तर बुधवार साँझ उनको मृत्यु भयो ।
मौसम सफा भएपछि मृत शरीर ल्याइने आरोहण आयोजकले जनाएको छ ।
आरोहणको यस सीजनमा यो पहिलो मृत्युको खबर हो ।