०४ असार २०८३, बिहीबार

स्वास्थ्य सामग्रीमा मुद्रा सटही सीमा हट्यो

बैशाख ३१, २०७८
स्वास्थ्य सामग्रीमा मुद्रा सटही सीमा हट्यो

 अक्सिजनजन्य स्वास्थ्य सामग्री आयातका लागि राष्ट्र बैंकले हालसम्मकै खुकुलो व्यवस्था गरेको छ । कोभिडको दोस्रो लहरको संक्रमण तीव्र रूपमा फैलिएसँगै अस्पतालमा अक्सिजनको अभाव हुन थालेपछि राष्ट्र बैंकले लचिलो नीतिगत व्यवस्था गरेको हो ।


नयाँ व्यवस्थाअनुसार अक्सिजनजन्य स्वास्थ्यसम्बन्धी सामग्री आयात गर्दा हाल तय भएको विदेशी मुद्रा सटहीको सीमा लागू नहुने भएको छ । यस्ता सामग्री आयातमा व्यवसायीले जति रकमको पनि विदेशी मुद्रा सटही सुविधा पाउँछन् ।

यी सामग्री आयात गर्ने व्यवसायीको बिजनेस क्रेडिबिलिटी इन्फर्मेसन (बीसीआई) पनि नचाहिने भएको छ । राष्ट्र बैंकले बिहीबार परिपत्र जारी गरी उक्त निर्देशन दिएको हो । हालका लागि २०७८ असार मसान्तसम्मका लागि उक्त सीमा हटाइएको छ ।

अहिले प्रतीतपत्रबिना ड्राफ्ट र टीटीका माध्यमबाट हुने वस्तु आयातका लागि सटही सुविधा बढीमा एक पटकमा अमेरिकी डलर ३५ हजार वा सो बराबरको परिवर्त्य विदेशी मुद्रासम्मका लागि मात्र प्रदान हुने व्यवस्था छ । अक्सिजनजन्य स्वास्थ्य सामग्री आयातको लचिलो व्यवस्था गर्दै अहिले राष्ट्र बैंकले तीन प्रकारको व्यवस्था गरेको छ ।

पहिलो, विदेशी मुद्रा सटही सीमा हट्यो । दोस्रो, एक लाख अमेरिकी डलरसम्मको सामग्री आयातका लागि स्वास्थ्य मन्त्रालयलगायत सम्बन्धित नियामक निकायको अनुमति लिन नपर्ने र तेस्रो, प्रतीतपत्रबिना टीटी र ड्राफ्टबाटै रकम भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ ।

‘स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागको सिफारिसमा गरिने कोभिड–१९ सँग सम्बन्धित औषधिजन्य सामग्री तथा स्वास्थ्य उपकरणहरू आयातको हकमा एउटै बीलबिजकबाट अमेरिकी डलर एक लाखसम्मको रकम टीटी र ड्राफ्टको माध्यमबाटै भुक्तानी गर्न सकिनेछ,’ निर्देशनमा भनिएको छ, ‘साथै अमेरिकी डलर एक लाखभन्दा बढीको सटही सुविधा आवश्यक परेका स्वास्थ्य सेवा विभागको सिफारिससहित स्वीकृतिका लागि राष्ट्र बैंकमा आवेदन दिनुपर्नेछ ।’ कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्