०४ असार २०८३, बिहीबार

आइसोलेशनका लागि व्यासले नियुक्त गर्‍यो चिकित्सक

बैशाख ३१, २०७८
आइसोलेशनका लागि व्यासले नियुक्त गर्‍यो चिकित्सक

तनहुँको व्यास नगरपालिकाले कृषि विकास बैंकको भवनमा सञ्चालन गरेको आइसोलेशनका लागि एमबिबीएस चिकित्सक नियुक्त गरेको छ ।

आइसोलेशनमा बस्ने सङ्क्रमितको उपचारका लागि नगरपालिकाले चिकित्सक नियुक्त गरेको हो । नगरपालिकाले कृषि विकास बैंकको भवनमा ५० जना बस्न मिल्ने गरी आइसोलेशन तयार गरेको छ । घरमा बस्न नमिल्ने तथा विपन्न आर्थिक अवस्थाका सङ्क्रमितलाई राख्नका लागि नगरपालिकाले सामूहिक आइसोलेशन बनाएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए।

उक्त आइसोलेशनमा प्रारम्भिक परीक्षण र अक्सिजनसमेतको व्यवस्थापन गरिनेछ । जटिल बिरामीलाई अस्पतालसम्म पु¥याउने कार्यका लागि निःशुल्क एम्बुलेन्सको समेत व्यवस्थापन भइसकेको न्यौपानेले बताए । “सामान्य सङ्क्रमितलाई वडाका स्वास्थ्य फोकल व्यक्तिको निगरानीमा होम आइसोलेशनमा राख्छौँ, घरमा बस्ने वातावरण नभएका र विपन्न वर्गका सङ्क्रमितलाई राख्न आइसोलेशनको व्यवस्थापन गरेका छौँ”, न्यौपानेले भने।

यसैबीच नगरपालिकाले कोभिड–१९ को विरुद्ध नगर क्षेत्रमा सञ्चालन गरेको अभियानको प्रभावकारिता सम्बन्धमा समीक्षा गर्ने क्रम शुरु गरेको छ । नगरपालिकाले हरेक दिन बिहान ८ः३० बजे अभियानको समीक्षा गर्न शुरु गरेको हो । नगरप्रमुख वैकुण्ठ न्यौपानेको संयोजकत्वमा, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सम्बन्धित वडाका वडाध्यक्ष र स्वास्थ्य प्रमुखको उपस्थितिमा समीक्षा गर्न शुरु गरेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले कोभिड–१९ का लागि आवश्यक औषधिजन्य एवं अन्य स्वास्थ्य उपकरण उपलब्ध गराइदिन एसओएस बालग्राम र गोरखा वेलफेयर ट्रष्टमा सहयोगका लागि अनुरोध गरेको छ । हरेक दिन हुने समीक्षाका क्रममा वडा एवं नगरस्तरमा कोभिड–१९ का विरुद्ध सञ्चालन गरिएका कार्यक्रम, त्यसको प्रभावकारिता, नगरवासीबाट आएको गुनासोलाई कार्यान्वयन गर्न चाल्नुपर्ने कदमलगायतका विषयमा छलफल गर्ने गरिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्