
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको राजनीति रहस्यमय बाटोमा धकेलिएको टिप्पणी गरेका छन् ।
प्रतिनिधि सभामा विश्वासको मत लिन नसकेका प्रधानमन्त्री केपी शर्मा ओली नै पुनः प्रधानमन्त्री बन्ने अवस्था सिर्जना हुनुले कयौ संशय उब्जाएको उनले बताए ।
शुक्रवार संघीय संसद् भवन नयाँ बानेश्वरमा कोभिड १९ विरुद्धको खोपको दोस्रो डोज लगाएर बाहिरिँदै गर्दा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले मुलुकको राजनीति रहस्यमय बाटोमा अघि बढेको र सयौं संशयहरू उब्जाएको बताएका हुन् ।
उनले अझै पनि संसद् विघटन गर्ने प्रयत्न अझै पनि जारी नै रहेको दाबी गरे ।
उनले भने, 'झन रहस्यमय बाटो तिर जाँदै छ । धेरै संशयका कुराहरू छन् । पहिलो कुरो त संसदलाई फाल्ने प्रयत्न अझै पनि जारी छ । त्यो कुरा कसरी समाधान हुन्छ । संसद्ले पूरा आयु बाँच्न पाउँछ कि पाउँदैन । संविधानले बाँच्न पाउँछ कि पाउँदैन । जनताले बाँच्न पाउँछ कि पाउँदैन । यस्तो कोरोना छ । यो कोरोनाको बीचमा लगेर फेरि तमासाहरू हुन थाल्यो भने फेरि जनता नै बाँच्ने कुरा आउँछ । त्यसकारण जनता बाँच्ने कुराको पनि चिन्ता छ ।'