
काँग्रेस सभापति शेरबहादुर देउवाले देशभर समयमा अक्सिजन नपाउँदा कोरोना संक्रमितको मृत्यु भइरहेको भन्दै अक्सिजन लगायतका उपचार उपलब्ध गराउन सरकार गम्भीर नबनेको आरोप लगाएका छन् ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै देउवाले भनेका छन्, ‘सुदूरपश्चिम लगायतका दुर्गम स्थानहरु र देशभरिमा नै अक्सीजन अभावले ठूलो संख्यामा मानिसको मृत्यु भइरहेको छ । सरकार यस विषयमा अहिलेसम्म पनि गम्भीर र जिम्मेवार देखिएको छैन ।’
उनले भविष्यमा आउन सक्ने जटिल परिस्थितिलाई मध्यनजर गरि सबै जिल्लामा अक्सीजन प्लान्ट र पीसीआर परिक्षण प्रयोगशाला स्थापना गर्न र तत्कालका लागि आवश्यक अक्सीजन, आईसीयू बेड, खोप लगायतका औषधीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
देउवाले विषम घडीमा मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संघ, संस्थाहरुलाई आवश्यक सहयोग गर्न पनि अपिल गरेका छन् ।