०३ असार २०८३, बुधबार

छिमेकीले किन रुचाउँदैनन् भारतलाई ?

कात्तिक २०, २०७४
छिमेकीले किन रुचाउँदैनन् भारतलाई ?

करिब ३० वर्षपहिले प्रधानमन्त्री बनिसकेपछि विश्वनाथप्रताप सिंहले श्रीलंकाका राष्ट्रपति रनसिंगे प्रेमदासासित भेटवार्ता गरे । प्रेमदासाले भेटवार्ताका क्रममा गरेको पहिलो प्रश्न थियो— ‘तपाईंहरूको सेनालाई कहिले फिर्ता लैजानुहुन्छ ?’ विनम्र स्वभावका सिंहलाई उक्त प्रश्न सुन्दा आश्चर्य लाग्यो ।

त्यतिवेला भारतले श्रीलंकामा तामिलसित लड्नका लागि सेनाको एउटा टुकडी पठाएको थियो, जसलाई भारतीय शान्ति बल भनिएको थियो । भारतले तामिलसित लड्नका लागि हजारौँ सैनिक पठायोे । लडाइँका क्रममा एक हजारभन्दा बढी भारतीय सैनिकको ज्यानसमेत गयो । त्यसलाई हामीले श्रीलंकालीका लागि गरेको बलिदान ठानेका थियौँ । तर, सिंहका अनुसार श्रीलंकालीले भने एउटा बिन्दुपछि त्यसलाई त्यहाँको आन्तरिक मामिलामा हस्तक्षेप ठान्न थालिसकेका थिए र उनीहरू भारतीय सेनाले श्रीलंका छाडोस् भन्ने चाहन्थे ।

श्रीलंकाली गृहयुद्ध सिंहाली राष्ट्रवादीको विजयसँगै अन्त्य भइसकेको छ र ३० वर्षअघिजस्तो श्रीलंकामा भारतको कुनै प्रभाव बाँकी छैन । यदि आज कसैले श्रीलंकामा विदेशी हस्तक्षेप रहेको मान्छ भने त्यो चीनबारे भनिएको हो भनेर बुझ्नुपर्छ । चिनियाँहरूले कोलम्बो र हम्बन्थोतामा बनाएका जस्ता विशाल बन्दरगाह बनाउन प्रतिस्पर्धा गर्ने ल्याकत अब भारतसित रहेन ।

अमेरिकाले क्यानडासित कायम गरेजस्तो सम्बन्ध हाम्रा कुनै छिमेकीसित छैन । हाम्रा सबै सिमाना अमेरिका र मेक्सिकोबीचका जस्ता छन्, अझ त्योभन्दा पनि खराब ।

आज चिनियाँहरूले संसारकै सबभन्दा महत्वपूर्ण र ठूला पूर्वाधार परियोजना कार्यान्वयन गरिरहेका छन् । ‘वेल्ट’ राजमार्गहरूको सञ्जाल हो भने, ‘रोड’ बन्दरगाह एवम् सामुद्री मार्गको सञ्जाल हो । चीनले यससम्बन्धी आफ्नो सोच विश्वसामु प्रस्ट पार्न मईमा सम्मेलनको आयोजना गर्यो । उक्त सम्मेलनलाई भारतले बहिष्कार गर्यो ।

भुटानबाहेक भारतका अरू सबै छिमेकी सो सम्मेलनमा सहभागी भए । श्रीलंका, बंगलादेश, माल्दिभ्स र नेपाल सबै सहभागी भए । त्यसपछि घेराबन्दीमा परिने हो कि भन्ने त्रास रणनीतिक मामलाबारे चिन्तनमनन गर्ने भारतीय समुदायमा पैदा भएको छ ।

चिनियाँसितको सहकार्य महँगो पर्नेछ भनी सम्मेलनका सहभागीलाई भारतले चेतावनी पनि दियो, तर कसैले पनि भारतको भनाइप्रति चासो दिएनन् । उनीहरूले भारतप्रति सुन्ने कान किन लगाएनन् त ? किनभने, भारतका छिमेकीले कि भारतलाई मन पराउँदैनन्, होइन भने शंकाको नजरले हेर्छन् । हिन्दूबाहुल्य नेपालमै पनि भारतीयहरू लोकप्रिय छैनन् । अमेरिकाले क्यानडासित कायम गरेजस्तो सम्बन्ध हाम्रा कुनै छिमेकीसित पनि छैन । हाम्रा सबै सिमाना अमेरिका र मेक्सिकोबीचका जस्ता छन्, अझ त्योभन्दा पनि खराब ।

हुन सक्छ दोषजति सबै हाम्रा छिमेकीको हो । पक्कै पनि औसत भारतीयले आफू छिमेकीको कुचेष्टाको सिकार भएको ठान्छन् । त्योसँगै हामी हाम्रा छिमेकीलाई पूर्वाग्रहपूर्ण नजरले हेर्छौंं । बंगलादेशी गैरकानुनी आप्रवासी हुन्, नेपाली चौकीदार हुन् र पाकिस्तानी आतंकवादी हुन् भन्ने हाम्रो बुझाइ छ ।

आज नेपालको उत्तरी क्षेत्रका बासिन्दा भारतले पहाडवासी र तराईवासीलाई फुटाउने खेल खेलेको छ भन्ने सोच्छन् । भारतले नेपालमा लामो पीडादायी नाकाबन्दी पनि लगायो । उनीहरू भारतले नेपालको संवैधानिक प्रक्रियामा हस्तक्षेप गरेको ठान्छन् ।

नेपालमा भारतको स्वाभाविक चासो र स्वार्थ हुन सक्छ । तर, हामीले केमा आत्मसमीक्षा गर्नुपर्छ भने हिन्दूबाहुल्य देश नेपालसित समेत हाम्रो सम्बन्ध किन बिग्रिएको छ ? हामीले किन चीनविरुद्ध नेपालीलाई आफ्नो पक्षमा लिन सकेनौँ ?

चीनविरुद्धको हाम्रो एकमात्रै ‘मित्र’ भुटानसितसमेत हाम्रो सम्बन्ध समानतामा आधारित छैन । नेहरूको पालामा भारतले भुटानमाथि जबर्जस्ती कथित मैत्री सन्धि लाद्यो, जुन सन्धि कुनै पनि हिसाबले मैत्रीपूर्ण छैन । सो सन्धिले भुटानको विदेशनीतिमाथि भारतलाई ‘भिटो’ प्रदान गर्यो । नेहरूलाई बिरासतका रूपमा विस्तारवादी साम्राज्यवादी राज्य प्राप्त भयो, जसको सिमाना पनि राम्ररी कोरिएको थिएन । छिमेकी देशलाई भारत पनि ब्रिटिस राजजस्तै हुने हो कि भन्ने डर हुनु स्वाभाविकै थियो । हामी सो डर र आशंकालाई पन्छाएर अर्थपूर्ण र परस्पर सम्मान एवम् हितमा आधारित सम्बन्ध स्थापित गर्न सफल भएनौँ । सो असफलताकै पछिल्लो अभिव्यक्ति हो, ‘बेल्ट एन्ड रोड’ सम्मेलनको सबालमा हामी एक्लै पर्नु ।

(पटेल एमनेस्टी इन्टरनेसनल भारतका कार्यकारी निर्देशक हुन्)

नयाँ पत्रिकाबाट


salt training

कमेन्ट गर्नुहोस्