
काठमाडौंको चन्द्रागिरिमा ६० शय्याको अक्सिजन सहितको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइएको छ ।
काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिमा नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना संक्रमण बढेपछि ६० शय्याको अक्सिजनसहित आइसोलेसन केन्द्र सञ्चालनमा आएको हो ।
नगर प्रमुख घनश्याम गिरीले नगरपालिकाभित्र दिनानुदिन कोरोना संक्रमित बढेपछि चिकित्सक, नर्स र स्वास्थ्यकर्मी सहितको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइएको जानकारी दिए ।
‘नगरपालिकाको वडा नम्बर ८ स्थित मातातीर्थमा रहेको नवनिर्मित सामुदायिक अस्पताल भवनमा ३० शय्या र वडा नम्बर ३ स्थित रहेको थानकोट प्राथमिक अस्पतालमा ३० शय्याको अक्सिजन सहितको आइसोलेसन केन्द्र निर्माण गरेका छौं,’ उनले भने ।
दुवै आइसोलेसन केन्द्रमा चौबिसै घण्टा सेवा प्रदान गरिने नगर प्रमुख गिरीको भनाइ छ ।
चन्द्रागिरिभित्रका बिरामीको उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल र उपत्यकाका अन्य अस्पतालसँग समन्वय गरिने नगर प्रमुख गिरीले बताए । नगरपालिकाले चाँडै नै वडा नम्बर १२ मा १५ शय्याको आइसोलेसन केन्द्र स्थापना गर्ने जनाएको छ ।
नगरपालिकामा हाल ९८६ सक्रिय संक्रमित रहेका छन् । हालसम्म चन्द्रागिरिमा कोरोनाका कारण ३५ जनाले ज्यान गुमाएका छन् ।