
अर्थ मन्त्रालयले गुल्मी जिल्ला अस्पतालमा आइसीयु कक्ष स्थापना गर्न र अक्सिजन प्लान्ट स्थापना गर्न एक करोड रुपैया दिने निर्णय गरेको छ । परराष्ट्र मन्त्री एवं गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदीप ज्ञवालीको विशेष पहलमा अर्थ मन्त्रालयले सो रकम निकासा गरेको हो ।
स्वास्थ्य मन्त्रालयको सिफारिशमा अर्थले एक करोड रुपैया निकासा गरेको हो । आइसीयु कक्ष नहुदा गुल्मीका सिकिस्त विरामीलाई पाल्पाको तानसेन, रुपन्देहीको बुटवल र काठमाडौं सम्म रिफर गर्ने गरिएको छ ।
कोभिड महामारीका कारण गुल्मीमा ९ सय भन्दा बढी संक्रमित रहेको र दैनिक ६० देखि ७० जना संक्रमित थपिने गरेको भन्दै जिल्ला अस्पताल गुल्मीले आर्थिक सहयोगका लागि मन्त्री ज्ञवालीको ध्यानाकर्षण गराएको थियो ।
एक करोड रुपैया निकासा हुदा आइसीयु कक्ष र अक्सिजन प्लान्ट स्थापना गर्ने अस्पतालको योजना अगाडि बढेको सम्बद्ध पक्षले जनाएको छ ।