
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले रास्वपालाई दुईतिहाई पुर्याउन दिएको मत नेपालमा राजा चाहिन्छ भन्नेहरूको पनि रहेको बताएका छन् ।
रास्वपाको प्रथम महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै उनले नेपालमा राजा चाहिन्छ भन्ने पार्टी राप्रपा भए पनि त्यो भोट पनि रास्वपालाई दिएको बताए ।
उनले भने, ‘नेपालमा राजा चाहिन्छ भन्ने पार्टी राप्रपा तर, राप्रपालाई नदिएर बालेनले राजा ल्याउँछ भनेर तपाईंलाई जनताले भोट दिएका हुन् ।’
उनले जनताको यो वशिष्ठ चाहनालाई सम्बोधन गर्नुपर्ने बताए । ‘समस्या हिजोका नेताहरूमा पनि थियो, त्यसैले जनताले उनीहरूलाई बडारे, तर समस्या नेतामा मात्रै होइन, उनीहरूले ल्याएको संविधान र संवैधानिक व्यवस्थामा पनि छ । संविधानमा परिवर्तन नगरी हुँदैन,’ लिङ्देनले भने, ‘देशमा एउटा राष्ट्रिय सहमति गर्नुपर्छ , तपाईंहरूले एउटा ऐतिहासिक अवसर पाउनुभएको छ, यसको सदुपयोग होस् ।’
लिङ्देनले रास्वपाका गलत कामलाई आफूहरूले औँला ठड्याउने बताए । उनले भने, ‘हिजो अरूले निषेध गरे, हामीले पनि निषेध गरेर जानुपर्छ भनेर तपाईंहरू निषेधको राजनीति नगर्नुस्, राम्रा काममा राप्रपा साथ दिन्छ, गलत काममा हामी तपाईंहरूलाई औँला पनि ठड्याउँछौं ।’