नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिले १ करोड राशिको ‘कर्णाली प्रदेश पत्रकार कल्याण कोष’ स्थापना गर्ने भएको छ ।
महासंघको सोमवार जूममार्फत बसेको बैठकले कर्णालीका पत्रकारहरुको आपतकालीन उद्धार, उपचार तथा राहतका लागि कोष स्थापना गर्ने निर्णय गरेको हो ।
महासंघ प्रदेश समितिका महासचिव खगेन्द्र भट्टराईले कोरोना भाइरसले कर्णालीका पत्रकार र सञ्चार क्षेत्रमा पारेको प्रभाव र आगामी दिनमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा बैठक केन्द्रित भएको बताए ।
उनका अनुसार कोष स्थापनामा सहयोग गर्न सञ्चार उद्यमी, निजी क्षेत्र र ३ वटै तहका सरकारसँग सहयोगको अपिल गरिने छ ।
बैठकले कर्णालीका विभिन्न जिल्लाका पत्रकार दिनहुँ कोरोना संक्रमित हुने संख्या बढिरहेकामा चिन्ता व्यक्त गर्दै पत्रकारलाई कोरोना विरुद्धको लडाइँमा ‘फ्रन्टलाइनर’ घोषित उनीहरुको स्वास्थ्य र सुरक्षाको उचित प्रबन्ध गर्न प्रदेश र संघ सरकारसँग माग गरेको छ ।
कोरोना संक्रमण वा अन्य कुनै गम्भीर अवस्थाका बिरामी पत्रकारको आपतकालीन उद्धार तथा उपचारका लागि महासंघका तर्फबाट सहजीकरण गर्न कोषाध्यक्ष गणेशकञ्चन भारतीलाई सम्पर्क व्यक्ति तोक्ने निर्णय गरेको छ ।