काठमाडौं, १८ जेठ– निजी क्षेत्रको अग्रणी दूरसञ्चार प्रदायक कम्पनी एनसेलले पनि चौथो पुस्ताको मोवाइल नेटवर्क सेवा फोरजी सुरु गरेको छ । एनसेलले लङ्ग टर्म इभोलुसन (एलटिई) प्रणाली अन्तर्गत फोरजी सेवा सुरु गरेको हो ।
एनसेलको फोरजी पहिलो चरणमा काठमाडौं उपत्यका तीन जिल्ला काठमाडौं, भक्तपुर, ललितपुर तथा काभ्रेको बनेपा र धुलिखेल क्षेत्रमा चलाउन सकिने छ ।
एनसेलले सन् २०१७ को अन्त्यसम्ममा देशका १५ प्रतिशत प्रयोगकर्तामा फोरजी सेवा पुर्याउने लक्ष्य लिएको समेत बताएको छ । उक्त लक्ष्य पूरा गर्न देशका विभिन्न ४० शहरमा फोरजी सेवा सुरु गर्ने योजनासहित नेटवर्क परीक्षण गरिरहेको एनसेलले जनाएको छ ।
एनसेल प्रयोगकर्ताले फोरजी सेवाको लाभ लिन आफूले प्रयोग गरिरहेको सिमलाई नजिकैको एनसेल सेन्टरमा गइ फोरजी चल्ने सिम (युसिम) सँग निःशुल्क साट्न सक्ने छन् । नयाँ प्रयोगकर्ताले भने फोरजी सिम नै प्राप्त गर्ने छन् ।
एनसेलले बिहीबारदेखि सुरु गरेको फोरजी सेवा प्रयोग गर्नेलाई ३ दिन समयावधि रहेको १ जिबी डेटा भोल्युम निःशुल्क प्रदान गर्ने जनाएको छ ।
असार १६ गतेसम्म फोरजी सेवा लिने प्रयोगकर्ताले भर्खरै सार्वजनिक भएको योण्डर म्युजिक एपमा फोरजी सेवा लिएको ३० दिनसम्म निःशुल्क अनलाईन गीत सुन्न सक्ने एनसेलले जनाएको छ ।