
विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको एक प्रतिवेदनमा लाखौं मानिसहरू घन्टौंसम्म काम गर्ने गरेकोले उमेर नपुगिकनै बितेको उल्लेख गरिएको छ ।
पहिलोपटक विश्वव्यापी रूपमा गरिएको अध्ययनमा सन् २०१६ मा मात्र ७ लाख ४५ हजार मानिस मुटुरोग वा हृदयघातका कारण बितेको पाइयो ।
तीमध्ये ६० प्रतिशत अधबैंसे वा वृद्ध थिए ।
विज्ञहरूका अनुसार, घन्टौंसम्म लगातार काम गर्दा शरीरमा अतिरिक्त दबाब पर्छ र यसले धेर खाने, चुरोट पिउने, रक्सी पिउने र कम सुत्ने लगायतका अस्वस्थ व्यवहारलाई प्रेरित गर्छ ।
धेरै समयसम्म काम गरिरहनेहरूमा मोटोपन, उच्च रक्तचाप र मधुमेह जस्ता समस्या आउँछन् । यी सबैले मुटुरोग बढाउँछन् ।
विश्व स्वास्थ्य संगठनका वैज्ञानिकहरूले चार हजारभन्दा विश्वव्यापी स्वास्थ्य सर्वेक्षणबाट आँकडा तुलना गरेका हुन् ।
हप्ताको ४० घन्टाभन्दा कम काम गर्नेहरूको तुलनामा हप्ताको ५५ घन्टा काम गर्ने मानिसलाई हृदयघात हुने सम्भावना ३५ प्रतिशत बढी हुन्छ र मुटुरोगबाट मर्ने सम्भावना पनि १७ प्रतिशत बढी हुन्छ ।
यस विश्लेषणका अनुसार, यो भनेको मुटुको समस्याबाट तीन लाख ४७ हजार अतिरिक्त मृत्यु हुन्छन् भने तीन लाख ९८ हजार अतिरिक्त मृत्यु हृदयघातका कारण हुन्छन् ।
संसारमा १० मध्ये एक मानिस हप्ताको ५५ घन्टाभन्दा बढी काम गर्ने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।