
जनता समाजवादी पार्टी (जसपा) नेपालले जेठ ८–९ गते केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त रूपमा हस्ताक्षर गरिएको परिपत्र पार्टीका सबै पदाधिकारी तथा कार्यकारिणी समितिका सदस्यलाई पठाइएको छ ।
‘देशको वर्तमान परिस्थितिमा विभिन्न विषयहरूमा विचार विमर्श गरी निष्कर्षमा पुग्नुपर्ने भएकाले बैठकमा उपस्थितिका लागि अनुरोध छ,’ परिपत्रमा उल्लेख छ ।
पार्टीको केन्द्रीय कार्यालय बबरमहलमा बैठक बोलाइएको छ ।
पार्टीले कुनै पनि महत्त्वपूर्ण विषयमा आधिकारिक निर्णय गर्नुपर्दा कार्यकारिणी समितिको बैठकबाट लिनुपर्ने पार्टीको विधानमा उल्लेख छ । ५१ सदस्यीय कार्यकारिणी समितिमध्ये १ जना रेशम चौधरी जेलमा छन् ।
यसअघि गत वर्षको चैत्र ५ गते बोलाइएको कार्यकारिणी समिति बैठक अन्तिम समयमा तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो ।
उपेन्द्र यादवले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा वैकल्पिक सरकार बनाउने लाइन पारित गराउने कुराको जानकारी पाएपछि ठाकुर पक्षले होलीपछि बैठक गर्ने भन्दै स्थगित गर्न लगाएका थिए ।
