०४ असार २०८३, बिहीबार

गाउँ पस्यो कोरोना–  ग्रामीण बस्तीहरूमा भुसको आगो जसरी फैलिँदै संक्रमण !

जेठ ४, २०७८
गाउँ पस्यो कोरोना–  ग्रामीण बस्तीहरूमा भुसको आगो जसरी फैलिँदै संक्रमण !
प्रतीकात्मक तस्वीर : स्याङ्जाको वालिङमा एक वृद्धको ज्वरो नाप्दै स्वास्थ्यकर्मी

पाल्पाको रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीलाई गतसाता कोरोना पोजेटिभ देखियो ।

शतर्कता अपनाउँदै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी घरबाट गाउँपालिका कार्यालय मात्र जाने/आउने गरेको कार्कीलाई संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गर्दा अन्य जनप्रतिनिधि र कर्मचारी गरी १४ जनामा गएको गएको साता नै कोरोना संक्रमण देखिएको छ । 

कोरोनाको ‘सेकेन्ड वेभ’बाट पाल्पाको बढी प्रभावित गाउँपालिका हो, रैनादेवी छहरा । वैशाखयता गाउँपालिकामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको अध्यक्ष कार्कीले बताए । अति प्रभावित क्षेत्रबाट आउनेहरूसँगै कोरोना पनि गाउँमा आएको उनको आशंका छ ।

‘गाउँमा संक्रमण तीव्र भएको छ,’ होम आइसोलेसनमा बसेका कार्कीले भने, ‘भारतबाट मानिसहरू सिधै घर आउने, काठमाडौंबाट आउने र तराईका जिल्ला रुपन्देही, कपिलवस्तु लगायतबाट आउने गर्दा संक्रमण फैलियो । उनीहरू गाउँगाउँ डुले । कोरोना रोकथामका लागि निषेधाज्ञामा कडाई गरिए पनि शहरमा जस्तो गाउँमा हुँदैन । त्यसैले संक्रमण गाउँभरी पैmलिएको छ । हाम्रो गाउँपालिका मात्रै अहिले सक्रिय संक्रमित २ सयभन्दा बढी छन् ।’ 

गाउँपालिकाले संक्रमितको उपचारका लागि १० शय्याको अक्सिजन सहितको अस्पताल पनि बनाएको छ ।

रैनादेवीमा वैशाख १५ गतेदेखि ३० गतेसम्म, भारत लगायतका ठाउँमा १ हजारभन्दा बढी मानिस भित्रिएका छन् । त्यस्तै पाल्पाका माथागढी, रिब्दीकोट, रम्भा गाउँपलिकामा पनि संक्रमण बढी छ । पहाडी जिल्ला पाल्पामा कोरोनाको दोस्रो लहरबाट ६७ जनाले ज्यान गुमाएका छन भने १ हजार ३०० भन्दा बढी संक्रिय संक्रमित छन् । 

गुल्मीका धेरै स्थानीय तहमा संक्रमण तीव्र छ । गुल्मीको रुरु गाउँपालिकामा पनि संक्रमण तीव्र रूपमा फैलिएको छ । गाउँपालिकामा अहिले १२८ जना सक्रिय संक्रमित छन् । गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी पन्थले हालै ३ जनाको संक्रमणका कारण मृत्यु भएको जानकारी दिइन् । ‘हाम्रो स्थानीय तहमा गम्भीर ६ जना संक्रमित बिरामीको पाल्पा, बुटवल र तम्घासमा उपचार भइरहेको छ । गाउँ–गाउँमा कोरोना पस्यो । नियन्त्रणका लागि हामी लागे पनि बाहिरबाट आउनेहरूका कारण नै जिल्लामा संक्रमण फैलिएको देखियो,’ पन्थीले लोकान्तरसँग भनिन् । 

गुल्मीको इस्मा गाउँपालिकाको वडा नम्बर ५, सत्यवती गाउँपालिकाको ४ र ५, मुसिकोट नगरपालिकाको वडा नम्बर ४, ६ र ७ मालिका वडा नम्बर १ र २, त्यस्तै धुर्कोट गाउँपालिकाको वडा नम्बर ६ र ७ मा संक्रमण तीव्र रूपमा फैलिएको छ । गुल्मीमा अहिले ९०० भन्दा बढी सक्रिय संक्रमित पुगेका छन् । गुल्मीमा दैनिक संक्रमणबाट ५/६ जनाको मृत्यु हुन थालेको छ । 

कोरोनाको पहिलो लहरमा खासै संक्रमित नभेटिएको बाग्लुङको बरेङ गाउँपालिकामा अहिले संक्रमण फैलिँदो छ । अहिले भारतबाट गाउँमा आएका धेरैमा संक्रमण देखिएको छ । 

गाउँपालिका अध्यक्ष कृष्ण पौडेलले लोकान्तरसँग भने, ‘गाउँ झनै जोखिममा छ । बाहिरबाट आएकाहरूलाई पहिला सामुदायिक क्वारेन्टीनमा राखिन्थ्यो । अहिले दुई हप्ता घरमै होम क्वारेन्टीनमा बस्ने भने पनि त्यो कार्यान्वन नहुँदा फैलिँदो देखियो । हामीले सम्पर्क गर्दा घरमै एक्लै सुरक्षित बसेको छु भन्छ । तर, निस्फिक्री गाउँमा घुम्ने गरेको पाइयो । संक्रमण गाउँ–गाउँमा देखिन थालेको छ ।’

पछिल्लो सातामा मात्रै गाउँपालिका ५० भन्दा बढी संक्रमित थपिएका छन् । त्यस्तै बाग्लुङको बडिगाड गाउँपालिका, काठेखोला गाउँपालिका, जैमिनी नगरपालिका लगायतका स्थानीय तहमा संक्रमण ज्यादा छ । 

कोरोना देखिएका पनि सबै घरमै बसिरहेका छन् । संक्रमित भएर होम  आइसोलेसनमा बसेकाहरूले पनि स्वास्थ्य संस्थामा उपचार पाउने अवस्था छैन । कोरोना समुदायस्तरमै फैलिए पनि उनीहरूको स्वाव संकलन र परीक्षणमा समेत समस्या छ । 

अर्घाखाँचीमा पनि संक्रिय संक्रमित १ हजार छन् । अर्घाखाँचीको शितगंगा, सन्धीखर्क र भूमिकास्थान नगरपालिकामा अहिले बढी संक्रमित छन् । यी तीन पालिका मात्रै ६०० सक्रिय संक्रमित पुगेको बताइएको छ । अर्घाखाँचीमा अहिले संक्रिय संक्रमित १ हजार १०० पुगेको छ भने ३९ जनाको मृत्यु भइसकेको छ । अहिले कोरोनाको दोस्रो लहरबाट गाउँ झनै असुरक्षित देखिएको छ । 

गाउँमा बिहे, भोज, पूजाआजा रोकिएका छैनन् । पहाडी जिल्लामा पनि अहिले निषेधाज्ञा छ । लुम्बिनी प्रादेशिक अस्पतालको कोभिड फोकल पर्सन तथा वरिष्ठ फिजिसियन डा.नन्दु पाठकले पनि गत वर्षको तुलनामा अहिले गाउँमा कोरोना संक्रमण तीव्र रहेको बताए ।

‘अहिलेको लहरको ट्रान्समिसन गराउने क्षमता बढी छ । गाउँमा परिवारका सबै समूहमा बस्ने । मास्कको प्रयोग नगर्ने गर्दा संक्रमण गाउँमा बढ्दो देखिन्छ,’ पाठकले भने । अब सबै क्षेत्रका जनताका लागि खोप आवश्यक देखिएको डा. पाठक बताउँछन् । अझै गाउँका मानिसलाई बेवास्ता गरे गाउँमा संक्रमण भयावह अवस्थामा पुग्ने लुम्बिनी प्रादेशिक अस्पतालका डा. सागर न्यौपानेले बताए । 

गाउँघरमा पाइने जडीबुटीको नियमित सेवन गरे संक्रमणले गम्भीर बनाउनबाट केही हदसम्म भए पनि रोकथाम हुने योगाचार्य विष्णुहरि आचार्यले बताए । प्राकृतिक आहार, बिहार, आचार र औषधि विधिले स्वास्थ्य लाभ हुने भएकालाई यो विधिलाई महत्व दिन आवश्यक रहेको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्