०९ असार २०८३, मंगलबार

गेटा कलेजमा आइसोलेसन बनाउन ५० लाख बजेट दिने निर्णय

जेठ ६, २०७८
गेटा कलेजमा आइसोलेसन बनाउन ५० लाख बजेट दिने निर्णय
प्रतिकात्मक तस्वीर

सुदूरपश्चिम प्रदेश कोभिड संकट व्यवस्थापन केन्द्रले गेटा मेडिकल कलेजका नवनिर्मित भवनमा आइसोलेसन सेन्टर निर्माणका लागि ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

रकम जिल्ला संकट व्यवस्थापन केन्द्र कैलालीलाई दिने निर्णय भएको छ ।

जिल्ला अस्पताल बैतडीमा नमूना परीक्षण गर्ने पीसीआर मशिन सञ्चालन गर्न, आवश्यक स्वास्थ्य सामग्री खरिद गर्न बैतडीकै रुदेश्वर स्वास्थ्य चौकी, दार्चुलाको देवल स्वास्थ्य चौकी, डोटीको दौड स्वास्थ्य चौकी र अछामको कमलबजार नगरपालिकालाई समेत गरी थप १ करोड ५० लाख उपलब्ध गराउने निर्णय भएको सुदूरपश्चिम प्रदेश, कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक एवं मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले बताए ।

प्रदेशमा गत २ दिनमा केही घटेको देखिएको कोरोना भाइरसको संक्रमण दरको ‘ग्राफ’ पछिल्लो २४ घण्टामा फेरि उकालो लागेको छ ।

स्वास्थ्य निर्देशनालय दीपायलको तथ्यांकका अनुसार गत २४ घण्टामा पीसीआर र एन्टिजेन पद्धतिबाट जम्मा २ हजार २०५ जनाको नमूना परीक्षण गर्दा झण्डै ४३ प्रतिशत अर्थात् ९५३ जनामा संक्रमण भएको छ । 
 
यसअघि सोमवार १ हजार ५३५ जनाको नमूना परीक्षण गर्दा झण्डै ३७ प्रतिशत अर्थात् ५६३ जनामा र मंगलवार १ हजार ७०३ जनाको नमूना परीक्षण गर्दा ४१ प्रतिशत अर्थात् ६९९ जनामा संक्रमण देखिएको थियो । 

निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशका कैलालीका ७, कञ्चनपुरका ६ र बाजुरा तथा दार्चुलाका १/१ गरी १५ जना संक्रमितको मृत्यु भएको छ । प्रदेशको ‘रेफरल’ अस्पतालका रूपमा रहेको सेती प्रादेशिक अस्पताल धनगढीमा भइरहेको अक्सिजनको अभावपछि अस्पतालमा ३३ थान अक्सिजन कन्सन्ट्रेटर जडान गरिएको छ ।

जडानसँगै अस्पतालमा कोरोनाबाट संक्रमित बिरामीको उपचार व्यवस्थापन केही सहज भएको अस्पतालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्