
नुवाकोटको त्रिशूली अस्पतालमा सघन उपचार कक्ष (आईसीयू) शय्या थप गर्न स्थानीय तहले आर्थिक सहयोग उपलब्ध गराउन थालेका छन् ।
कोरोना संक्रमित बिरामीलाई अहिले आईसीयू शय्या अत्यावश्यक रहेकाले शय्या थप्न किस्पाङ गाउँपालिकाले १० लाख रुपैयाँ तत्कालै र अपुग भए पछि थप्ने गरी सहयोग गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिए ।
त्रिशूली अस्पतालमा हाल ६ शय्याको आईसीयू, ४ एचडीयू र ६ वटा भेन्टिलेटर सञ्चालनमा छन् ।
नुवाकोटसहित रसुवा र धादिङका बिरामीलाई सेवा दिँदै आएको त्रिशूली अस्पतालमा हाल कोरोना संक्रमित बिरामीको चाप बढेसँगै १० शय्याको आईसीयू थप्नको लागि प्रक्रिया अघि बढाइएको अस्पताल व्यवस्थापन तथा विकास समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपानेले जानकारी दिए ।
स्थानीय तह, जिल्ला समन्वय समिति र प्रदेश तथा संघीय सांसदमार्फत आर्थिक स्रोत जुटाउन पहल थालिएकोमा किस्पाङ गाउँपालिकाको तर्फबाट गरिएको यो पहिलो सहयोग हो ।