
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री नियुक्ति प्रक्रिया सुरु गर्न आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी ओलीको आग्रह अनुसार राष्ट्रपतिले नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आह्वान गरेकी हुन् । ओलीले विश्वासको मत नलिइ नयाँ प्रक्रियामा जाने निर्णय आजको मन्त्रिपरिषद् बैठकमार्फत गरेका थिए ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा शुक्रबार साँझ ५ बजेभित्र प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न राष्ट्रपतिले आह्वान गरेको उल्लेख गरिएको छ ।
'मुलुकलाई अन्योलमा राख्न उचित नदेखिएकाले नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्ति सम्बन्धी प्रक्रिया आरम्भ गर्न नेपाल सरकार, मन्त्रिपरिषदबाट जेठ ६ गते निर्णय भएको र सो बमोजिम प्रधानमन्त्री नियुक्त प्रक्रिया आरम्भ हुन प्रधानमन्त्रीबाट अनुरोध भइ आएकाले नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि २०७८ जेठ ७ गते साँझ ५ बजेसम्म प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गर्न संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभाका सदस्यलाई आह्वान गर्नुभएको छ’, राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।
