चिनियाँ जनमुक्ति सेनाले भारतको अरुणाचल प्रदेशको सीमा नजिक गतिविधि बढाएको छ ।
तिब्बतको दक्षिणपूर्वी भागका दुर्गम क्षेत्रमा चीनले राजमार्ग निर्माणको काम सम्पन्न गरेको छ । राजमार्गमा दुई किलोमिटर लामो सुरुङ पनि छ । अरुणाचल प्रदेशनजिकको यस सडकका कारण भारतीय सुरक्षा अधिकारीहरूको चिन्ता बढेको छ ।
यो राजमार्ग संसारको सबभन्दा गहिरो यार्लुङ जाङ्बो गल्छी हुँदै जान्छ र बाइबङ काउन्टीसम्म पुग्छ । त्यो अरुणाचल प्रदेशको बिशिङ गाउँको सीमा नजिक छ ।
बिशिङ गाउँ अरुणाचलको गेलिङ सर्कलमा पर्छ र त्यसले सीमालाई छुन्छ ।
चीनले अरुणाचल प्रदेशलाई दक्षिण तिब्बत भन्ने गरेको छ ।
शनिवार बिहान २१ सय १४ मिटर लामो सुरुङ खन्ने काम सम्पन्न भएको बताइएको छ । त्यससँगै ६७.२२ किलोमिटर लामो सडकको निर्माण लगभग सम्पन्न भएको छ ।
भारतसँगको वास्तविक नियन्त्रण रेखा नजिक सडक र सुरुङ चीनको महत्त्वाकांक्षी योजनाको एक अंग हो । यसबाट चीनका दुर्गम क्षेत्र पनि शहर र विमानस्थलहरूसँग जोडिन्छन् ।
यो राजमार्ग सञ्चालनमा आएपछि तिब्बतको शहरी क्षेत्र निङ्ची र सीमासँग जोडिएको गाउँबीचको यात्रा समय घट्नेछ ।
चीनको विशाल जलविद्युत् परियोजना यार्लुङ जाङ्बो निर्माणमा पनि यस राजमार्गले सहयोग गर्ने बताइएको छ । तिब्बतको यार्लुङ जाङ्बो नदी भारतमा ब्रह्मपुत्र बन्छ र बंगलादेशसम्म पुग्छ ।