२२ जेठ २०८३, शुक्रबार

डायनासँगको अन्तर्वार्ताका लागि बीबीसीले माग्यो माफी, छोरा विलियम्सले गरे आलोचना

जेठ ७, २०७८
डायनासँगको अन्तर्वार्ताका लागि बीबीसीले माग्यो माफी, छोरा विलियम्सले गरे आलोचना

बीबीसीमा प्रसारण गरिएको बेलायती राजकुमारी डायनासँगको अन्तर्वार्ताका लागि उक्त संस्थाले माफी मागेको छ । 

अन्तर्वार्ता लिनका लागि पत्रकार मार्टिन बशीरले गलत विधि अपनाएको भनी अनुसन्धानमा खुलेपछि बीबीसीले माफी मागेको हो । 

उक्त अन्तर्वार्ताका कारण आफ्नी आमा डायनाको डर झनै बढेको र आमाबुवाको सम्बन्ध बिग्रिएको भनी राजकुमार विलियम्सले बीबीसीको आलोचना गरेका छन् । 

आफ्नी आमालाई बीबीसीले धोका दिएको उहाँले कहिल्यै थाहा पाउनुभएन र त्यसले आफूलाई दुःखी तुल्याएको विलियम्सको भनाइ छ ।

आमालाई एउटा फटाहा पत्रकारले मात्र नभई बीबीसीका हाकिमहरूले पनि धोका दिएको विलियम्सले बताए ।

आमाको मृत्युमा पनि विषाक्त मिडिया संस्कृति जिम्मेवार रहेको विलियम्सले आरोप लगाए ।

सन् १९९५ मा गरिएको उक्त अन्तर्वार्ताका लागि बशीरले अपनाएको तरिकालाई बीबीसीले लुकाएको थियो । 

त्यसको स्वतन्त्र अनुसन्धान प्रतिवेदनमा अन्तर्वार्ता कसरी लिइएको थियो भन्ने जानकारी छापिएको छ । 

अनुसन्धान टोलीका अध्यक्ष पूर्व न्यायाधीश लर्ड डायसनले भने, ‘अन्तर्वार्ताका लागि उपयोग गरिएका तरिकाले बीबीसीको पहिचान बनेको इमान्दारी र पारदर्शिताको उच्च मापदण्डलाई पालन गरेको थिएन ।’

प्रतिवेदनका अनुसार, बशीरले डायनासँगको भेटघाटका लागि उनका दाइ अर्ल स्पेन्सरको विश्वास जितेको थियो र विश्वास जित्न बशीरले झूटा कागजात देखाएका थिए । 

कसैलाई कीर्ते कागजात नदेखाएको भनी बीबीसीमा व्यवस्थापकहरूसँग झूटो बोलिएको थियो । 
 

मार्टिन बशीरले बयान जारी गरेर ती दस्तावेजहरूका लागि माफी मागेका छन् र राजकुमारी डायनासँगको अन्तर्वार्ता गौरवको क्षण भएको बताएका छन् । 

उनले भने, ‘अन्तर्वार्ता दिने निर्णय राजकुमारीको निजी निर्णय थियो र बैंकका कागजातसँग त्यसको कुनै सम्बन्ध थिएन ।’

बीबीसी पानोरामाका प्रसारण गरिएको उक्त अन्तर्वार्तामा त्यसबेलाको राजपरिवार, आफ्ना पति राजकुमार चार्ल्स अनि क्यामिला पार्करसँग चार्ल्सको सम्बन्धका विषयमा डायनाले खुलेर कुरा गरेकी थिइन् । 

बीबीसीका लागि त्यो अन्तर्वार्ता निकै महत्त्वपूर्ण साबित भयो । त्यसअघि कुनै पनि टेलिभिजनमा राजपरिवारको सदस्यले परिवारका विषयमा यति खुलेर कुरा गरेको थिएन । 

पति चार्ल्सले क्यामिला पार्करसँग राखेको सम्बन्धले आफूलाई असहज बनाएको डायनाले बताएकी थिइन् । 

आफूलाई बुलिमिया अर्थात् तौल घटाउने तीव्र इच्छा भएको मानसिक समस्या रहेको पनि उनले खुलासा गरेकी थिइन् । 

पति चार्ल्सका कर्मचारीहरूले आफूविरुद्ध अभियान चलाएको पनि उनले बताइन् । 

२७ वर्षअघि आएको उक्त अन्तर्वार्तालाई २.३ करोड मानिसले हेरेका थिए । 

त्यतिखेर अन्तर्वार्ताले भयंकर विवाद निम्त्याएको थियो । अन्तर्वार्ता प्रसारित भएको केही समयपछि महारानी एलिजाबेथले छोरा चार्ल्स र बुहारी डायनालाई पत्र लेखेर पारपाचुके गर्न सुझाएकी थिइन् । 
सन् १९९७ अगस्ट ३१ मा डायना एक कार दुर्घटनामा मारिएकी थिइन् । 

डायनाका दाइ अर्ल स्पेन्सरले डायनालाई अन्तर्वार्ताका लागि मनाउन बीबीसीका पत्रकार मार्टिन बशीरले बैंकको कीर्ते स्टेटमेन्ट उपयोग गरेको आरोप लगाएका थिए । 

सन् २०२० मा उनले यस विषयमा स्वतन्त्र अनुसन्धानको माग राखेका थिए । बेइमानीपूर्वक अन्तर्वार्ता लिइएको आरोप लगाउँदै उनले अनुसन्धानको माग गरेपछि पूर्व न्यायाधीशको अध्यक्षतामा जाँचबुझ समिति बनाइएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्