
भारतको तहल्का पत्रिकाका संस्थापक सम्पादक तरुण तेजपाललाई यौन शोषणको मुद्दामा गोवाको सेसन कोर्टले सफाइ दिएको छ ।
सन् २०१३ मा उनकी एक महिला सहकर्मीले यौन आक्रमणको आरोप लगाएकी थिइन् ।
तेजपालले गोवाको बम्बोलिमस्थित ग्रान्ड हायात होटलको लिफ्टमा महिला सहकर्मीसँग जबर्जस्ती गर्न खोजेको आरोप थियो । तेजपाललाई सन् २०१३ नोभेमबर १८ मा पक्राउ गरिएको थियो ।
अतिरिक्त सेसन जज क्षमा जोशीको इजलासले तेजपाललाई सफाइ दिएको हो ।
तेजपालका वकिल राजीव गोम्सको मृत्यु गत साता कोभिडका कारण भयो । उनले बयान जारी गरेर वकिल तथा दुःखमा सहयोग गर्ने अरूप्रति आभार प्रकट गरेका छन् ।
तरुण तेजपाल भारतीय पत्रकारिता क्षेत्रमा विस्फोटक पत्रकारका रूपमा चिनिन्छन् । उनको तहल्का पत्रिकाले स्टिङ अपरेसनमार्फत विभिन्न खुलासा गर्ने गरेको थियो ।