
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा विपक्षी गठबन्धनको बैठक शुरू भएको छ ।
बैठकमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष र जसपाको उपेन्द्र यादव पक्ष सहभागी छन् ।
बैठक सभापति देउवाको निवास बूढानीलकण्ठमा शुरू भएको हो ।
बैठकमा माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ प्रकाश लगायत सहभागी छन् ।
एमाले नेता माधव नेपाल पनि बैठकमा पुगेका छन् ।
त्यसअघि शुक्रवार बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले राष्ट्रपतिको कदम रोक्न दलहरूसँग छलफल गर्ने निर्णय गरेको थियो ।
‘साँझ ५ बजेसम्मको समय दिइएकाले कार्यालय समयमै हामी कुनै निष्कर्षमा पुग्ने गरी छलफल गर्छौं,’ महतले भने ।
संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा दाबी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय शुक्रवार सकिँदैछ ।
शुक्रवार साँझ ५ बजेसम्मको समय दिएर राष्ट्रपति भण्डारीले बिहीवार धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी गर्न आउन प्रतिनिधि सभाका सदस्यहरूलाई आग्रह गरेकी थिइन् ।
धारा ७६ (३) को प्रधानमन्त्री कायमै रहेको अवस्थामा यसरी आह्वान गर्नु असंवैधानिक रहेको भन्दै विरोध गर्दै आएको कांग्रेसले राष्ट्रपति भण्डारीविरुद्ध महाभियोगको तयारी समेत गरेको छ ।