२३ जेठ २०८३, शनिबार

नेपालमा सहयोग जुटाउन एनआरएनए अमेरिकासँग माग

नेपालमा सहयोग जुटाउन एनआरएनए अमेरिकासँग माग

अमेरिकाको विभिन्न शहरमा बस्ने नेपालीले नेपालमा नयाँ भेरियन्टसहितको कोरोनाको दोस्रो लहर तीव्र भइरहेका बेला गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अमेरिका शाखाको अधिवेशन स्थगित गर्न माग गरेका छन् । 

एनआरएनए अमेरिकाको सदस्यसमेत रहेका गैर आवासीय नेपालीले नेपालमा तीव्र सङ्क्रमण फैलिएका बेला अधिवेशन रोकेर नेपालमा कोरोना पीडितका लागि स्वास्थ्य सामग्री एवं राहत जुटाउन सहयोग गर्न नेतृत्वसँग माग गरेका हुन् ।

अर्को साता हुने अधिवेशनका लागि प्रचारप्रसार तीव्र भएको भन्दै विज्ञप्तिमा प्रचारप्रसारको खर्च नेपालमा स्वास्थ्य सामग्री जुटाउन खर्च गर्नुपर्नेमा जोड दिइएको क्यालिफोर्नियामा रहनुभएका नेपाली युवा महेन्द्र सुवेदीले राससलाई जानकारी दिए ।

नेपालमा महामारी तीव्र रुपमा फैलिएका बेला अमेरिकामामात्र नभई संसारका जुनसुकै कुनामा रहेका नेपाली र तिनका संस्था सहयोग जुटाएर नेपालीलाई बचाउने अभियानमा लाग्नुपर्नेमा जोड दिइएको उनले सुनाए ।

एनआरएनए राजनीतिक नभई सामाजिक संस्था भएकाले अहिलेको विषम परिस्थितिमा अधिवेशन गर्नुपर्ने आवश्यकता नरहेको विज्ञप्तिमा उल्लेख छ । मानवीय संवेदनशीलतालाई ध्यान दिँदै यतिबेला सबैले सहयोग जुटाउन सक्दो लाग्नुपर्नेमा विश्वभर फैलिएका नेपालीसमक्ष आह्वान गरिएको छ ।

हाललाई अधिवेशन स्थगित गरी पछि उपयुक्त समयमा गर्न एनआरएनए अमेरिकाका १० जना साधारण सदस्यले जोडदार माग गर्नुभएको हो । विज्ञप्ति प्रकाशित गर्नेमा सुवेदी, अशोक खड्का, विजय खड्का, रविन्द्रबहादुर सिंह, अर्जुन लामा, दिनेश लामा, दिपेन्द्र तिमल्सिना, राजेश शर्मा, आदित्य खड्का र सन्देश खड्का छन्।

salt training

कमेन्ट गर्नुहोस्