
युरोपेली संघको संसद्ले चीनसँग गरेको ऐतिहासिक सम्झौतालाई रोक्नका लागि मत दिएपछि चीनले शुक्रवार त्यसको आलोचना गरेको छ ।
बेइजिङले ईयूका सांसदहरूमाथि प्रतिबन्ध लगाएको विरोधमा यो सम्झौता रोकिएको हो ।
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लिजियानले सिन्ज्याङका विषयमा चिनियाँ अधिकारीहरूलाई प्रतिबन्ध लगाइएपछि चीनले पनि जवाफमा युरोपेली सांसदहरूमाथि प्रतिबन्ध लगाउनु जरूरी रहेको बताए ।
सात वर्षसम्म छलफल गरेपछि पोहोर साल युरोपेली संघ र चीनले लगानी सम्झौता गरेका थिए ।
तर युरोपेली संसद्ले बिहीवार यस सम्झौतामा थप केही प्रक्रिया अघि नबढाउने भनी बहुमतका साथ रोकेको थियो । चीनले युरोपेली सांसद र विज्ञहरूमाथि प्रतिबन्ध लगाउन्जेल सम्झौता रोकिएको अवस्थामा रहने उनीहरूको भनाइ छ ।