३० जेठ २०८३, शनिबार

नेपालगञ्जमा अनुदानमा धानको बीउ वितरण

जेठ ७, २०७८
नेपालगञ्जमा अनुदानमा धानको बीउ वितरण
प्रतिकात्मक तस्वीर

नेपालगञ्ज उपमहानगरपालिकाले नगर क्षेत्रभित्रका किसानलाई सहुलियत दरमा उन्नत जातको धानको बिउ वितरण शुरू गरेको छ ।

उपमहानगरपालिकाले ५० प्रतिशत अनुदानमा धानको बिउ वितरण शुरू गरेको हो । 

नगर प्रमुख डा. धवलशम्शेर राणाले शुक्रवारदेखि शुभारम्भ गरेको कार्यक्रम केही दिनसम्म चल्नेछ । किसानलाई झण्डै १६ मेट्रिक टन धानको बिउ वितरण गर्न लागिएको छ । ५० प्रतिशत अनुदान प्राप्त गर्ने भएपछि धानको बिउ लिन किसानको लाम लागेको छ । 

किसानको आवश्यकता अनुसार कम्तीमा ३५ किलोको १ बोरी धानको बिउ उपलब्ध गराउने गरिएको छ । राधा–४, रामधान, बहुगुणे–२ र सावा मन्सुरी सबवन गरी चार किसिमका धानका बिउ वितरण भइरहेको उपमहानगरपालिकाले जनाएको छ । 

अरब सागरको ‘ताउ—ते’ सामुद्रिक चक्रवातका कारण नेपालगञ्जमा ३ दिनसम्म परेको अविरल झरीपछि किसान धानको बेर्ना रोप्न जुटेका छन् । कृषि ज्ञान केन्द्रका अनुसार नेपालगञ्जसहित बाँके जिल्लाभरि यस वर्ष ३६ हजार हेक्टरमा धान खेती हुने आकलन गरिएको छ ।

शुरूआती चरणमै राम्रो वर्षा भएकाले रोपाइँ सप्रने अपेक्षा गरिएको छ । उत्पादन भएको आधा धान चामलमा परिणत गरी कर्णाली लगायत विभिन्न जिल्लामा निर्यात हुँदै आएको केन्द्रले जनाएको छ ।  

नेपालगञ्जसहित बाँके जिल्ला धानबालीमा अत्मनिर्भर भएको जिल्ला हो । जिल्लाका अधिकांश किसानका लागि  धानबाली मुख्य आर्थिक स्रोतका रूपमा रहेको छ । धानको उत्पादन वृद्धि गर्नका लागि यहाँ धान ब्लक, धान पकेट तथा स्मार्ट कृषि गाउँ कार्यक्रम पनि लागु भएको छ । कार्यक्रमले पनि धानको उत्पादनमा वृद्धि गर्ने बताइएको छ ।  

यस वर्षदेखि सिँचाइ सुविधा उपलव्ध भएका कारण पनि धानको राम्रो उत्पादन हुने अपेक्षा गरिएको छ । सिक्टा सिँचाइ आयोजनाले किसानका अधिकांश खेतमा १२ महिना सिँचाइ सुविधा पुर्‍याएको छ ।

विगतमा आकाशे पानीको भरमा धान खेती हुँदै आएकामा आयोजनाले नहरमा पानी छोडेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्तीसोनारी, बैजनाथ र जानकी गाउँपालिकाका खेतीयोग्य जमीन हराभरा हुँदै आएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्