
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले महाराजगञ्जस्थित प्रहरी अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
नेपाल प्रहरी अस्पतालको विषयमा शुक्रवार प्रहरी प्रधान कार्यालयमा भएको छलफलमा प्रहरी महानिरीक्षक थापाले नयाँ भेरियन्ट सहितको कोभिड–१९ को दोस्रो लहरका कारण संक्रमितको संख्या बढ्दै गइरहेको अवस्थामा सेवालाई थप चुस्त बनाउनुपर्ने आवश्यकता औंल्याए ।
शुक्रवारको बैठकमा नेपाल प्रहरी अस्पतालले गर्ने उपचारलाई थप प्रभावकारी बनाउन आवश्यक नीति निर्माण, साधनस्रोत तथा जनशक्तिको व्यवस्थापन लगायतका विषयमा छलफल गरिएको थियो ।
प्रहरी महानिरीक्षक थापाले कोभिड–१९ संक्रमितको उपचारमा खटिने चिकित्सक तथा कर्मचारीले सुरक्षाका मापदण्ड पूर्ण पालना गरी अझै बढी संवेदनशील भई पारिवारिक वातावरणका साथ उपचारमा सरिक हुने स्वास्थ्यकर्मीलाई आग्रह गरे ।
अस्पतालमा उपचाररत बिरामीप्रति गरिने व्यवहार शिष्ट हुनुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक थापाले कोभिड–१९ नियन्त्रणमा गर्न सकिने सबै प्रयासमा कुनै कमी हुन नदिन आग्रह गरे । अस्पताललाई आवश्यक पर्ने स्रोतसाधन उपलब्ध गराउन प्रहरी प्रधान कार्यालय सदैव तत्पर र क्रियाशील रहेको उनले उल्लेख गरे ।
छलफलका क्रममा नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले अस्पतालको गतिविधि तथा कोभिड–१९ नियन्त्रणका लागि गरिएका प्रयास र उपचार पद्धतिबारे जानकारी गराएका थिए ।