
मुलुकभित्र हाल सञ्चालनमा रहेका सिमेन्ट उद्योगले जडित क्षमताअनुसार उत्पादन नगरेको पाइएको छ ।
कूल ५५ सिमेन्ट उद्योगको कूल जडित उत्पादन क्षमता १ करोड ५० लाख मेट्रिक टन रहेको छ ।
आन्तरिक बजारमा ९० लाख ५० हजार मेट्रिक टन बराबरको माग रहेको एक अध्ययनले देखाएको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको ‘नेपालमा सिमेन्ट उद्योगमा वैदेशिक लगानीः आर्थिक सामाजिक प्रभावको अध्ययन प्रतिवेदन’ अनुसार आन्तरिकरूपमा उद्योगबाट ७४ लाख ९० हजार मेट्रिक टन मात्रै सिमेन्ट उत्पादन भएको छ । १५ लाख ६० हजार मेट्रिक टन विदेशी मुलुकबाट आयात भएको देखिन्छ ।
प्रत्यक्ष विदेशी लगानी रहेको उद्योगहरूको औसत क्षमता उपयोग ४५.८१ प्रतिशत रहेको छ भने सरकारी र निजी स्वामित्वका उद्योगको क्रमशः ५०.१२ प्रतिशत र ६३.७८ प्रतिशत रहेको छ । हाल सञ्चालित सिमेन्ट उद्योगमध्ये ३ प्रत्यक्ष विदेशी लगानी, २ सरकारी स्वामित्वका र ५० निजी स्वामित्वका रहेका छन् ।
लगानी र उत्पादन क्षमताका आधारमा हेर्दा मुलुकमा प्रत्यक्ष विदेशी लगानी रहेका सिमेन्ट उद्योगको बाहुल्य रहेको केन्द्रीय बैंकको अध्ययनमा समावेश छ ।
अध्ययनमा प्रत्यक्ष विदेशी लगानी रहेका सिमेन्ट उद्योगको वस्तुस्थितिको तुलनात्मक स्थिति, स्वदेशी माग र आपूर्तिलगायत ती उद्योगको सामाजिक तथा आर्थिक प्रभाव संलग्न गरिएको छ । अध्ययनले विदेशी लगानी रहेका ३ सरकारी स्वामित्व र निजी स्वामित्व रहेका २/२ गरी कूल ७ उद्योगलाई समेटेको छ ।
सिमेन्ट उद्योगको सामाजिक तथा आर्थिक प्रभावको विश्लेषणात्मक अध्ययनका लागि प्रत्येक उद्योगबाट कार्यकारी प्रमुख, २ कर्मचारी र उद्योग वरपरका १० जना वासिन्दालाई उत्तरदाताका रूपमा चयन गरिएको राष्ट्र बैंकको भनाइ छ ।
सरकारी र निजी स्वामित्व रहेका उद्योगहरुको तुलनामा प्रत्यक्ष विदेशी लगानी रहेका उद्योगको सञ्चालन र मुनाफा राम्रो रहेको छ । विदेशी लगानीमा स्थापित सिमेन्ट उद्योगहरुको उत्पादन क्षमता उच्च र उत्पादन लागत न्यून रहेको पाइएको छ ।