
काठमाडौं, १८ जेठ — भरतपुर महानगरपालिकामा जेठ १४ गते राति मतगणना चलिरहेकै बेलामा एकिकृत माओवादीका प्रतिनिधिले एकाएक मतपत्र च्याते । त्यसपछि अहिले सम्म भरतपुरको मत गणना स्थगित भएको छ ।
विहिवार मुख्य निर्वाचन अधिकृत सहितको समुहले च्यातिएका मत पत्रको निरिक्षण गर्दा ९० वटा मत पत्र च्यातिएको अवस्थामा फेला परेको छ । अब यस विषयमा अन्तिम निर्णय निर्वाचन आयोगले गर्ने छ । विहिवारनै मत पत्र च्यात्ने माओवादी प्रतिनिधिहरु अदालतबाट जनही एक लाख धरौटीमा छुटेका छन् ।
मत पत्र च्यातिएसँगै एमालेले सोही अवस्थामा मतगणना हुनुपर्ने माग गरिरहेको छ भने कांग्रेस र माओवादीले चाहिँ पुन मतदान हुनुपर्ने बताएका छन् ।
मतपत्र च्यात्नुभन्दा अघिभरतपुरमा वडा नम्बर १९ को मतगणना चलिरहेको थियो । सो समय एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीले एकिकृत माओवादी उम्मेदवारलाई ७ सय मतले लिड गरिरहेका थिए ।
वडा नम्बर १९ को आधाजति मत गनेपछि माओवादीले मतपत्र च्यातेका हुन् । करीब ५५ सय जति मत गन्न बाँकी रहँदै माओवादी प्रतिनिधीले मत पत्र च्यातेका हुन् । वडा नम्बर २० को मत गन्न पुरै बाँकी छ ।
प्रधानमन्त्रीपुत्री समेत रहेकी रेणुले देवीसँगको मतान्तर कम गराउँदै लगेकी छन् । तर मतगणना लगभग अन्तिम चरणमा पुग्दै गर्दा उनलाई मेयरको चेयरमा बस्न मुश्किल देखिन्छ ।
अब वडा नम्बर १९ र २० को मात्रै मत गन्न बाँकी रहेको छ । यी दुवै वडा कांग्रेसका पकड एरिया हुन् । तर कांग्रेसका पकड मानिने वडाबाट पनि एमालेका देवीले भोट पाइरहेका छन् । कांग्रेस मतदाताले वडाध्यक्षमा कांग्रेसलाई राम्रै भोट दिँदै गर्दा मेयरमा चाहिँ रेणुको भोट काटेर देवीलाई दिइरहेका छन् । १९ नम्बर वडाके मत गन्दै गर्दा त्यस्तै भएपछि माओवादी कार्यकर्ताले मत च्यातेका हुन् ।
वडा नम्बर २१ को मत गणना सकिँदा उनले देवीले भन्दा ३ सय ६१ मत बढी पाएकी छन् । उनले मतान्तर घटाएर
७ सय ८४ मा ल्याएकी छन् । १९ नम्बरको मत गनिँदै गर्दा उनले त्यो अन्तर ७ सय सम्म ल्याएकी थिइन् ।
यी दुई वडामा रहेको ६१ सय ६२ मतगणनामा रेणुले प्रगति गर्नुपर्नेछ भने एमालेका ज्ञवाली चाहिँ रक्षात्मक अवस्थामा रहँदा मात्रै पनि हुन्छ ।
ज्ञवालीले ४० हजार ९ सय ८० मत ल्याएका छन् भने रेणु दाहालले ४० हजार १ सय ९६ मत ल्याएकी थिइन् ।
मतगणनास्थल आसपास निकै चहलपहल छ । मेयरको पद कसले जित्छ भन्नेमा चितवनकै नेता कार्यकर्ताहरू अनुमान लगाउन सकिरहेका छैनन् । कांग्रेसको पकड क्षेत्रको हिसाबले रेणु सहज अवस्थामा हुनुपर्ने हो तर गठबन्धन मन नपराएका कांग्रेस मतदाताले देवीलाई भोट दिँदा उनलाई तनाव भएको हो । तुलनात्मक रूपमा देवी सजिलो स्थानमा छन् किनकि उनले गठबन्धनकै भोट काटिरहेका छन् ।
भरतपुर महानगरपालिकाको मतगणना कवर्ड हलमा भइरहेको छ । जिल्ला विकास समितिको कार्यालयअघि रहेको उक्त हलमा मतगणना भइरहेको हो । कवर्ड हलको बाहिर बसेर मतगणनाको समीक्षा गर्न कार्यकर्ताहरू व्यस्त छन् ।
उनीहरू देवी र रेणु दुव हालको अवस्थामा बलियो नभएको तर्क गर्छन् ।
चौध दिनदेखि प्रतीक्षा गरिरहेका दुवैतर्फका शुभेच्छुकलाई अहिले सम्हालिन निकै गाह्रो भएको छ । उनीहरू अधैर्य भइरहेका छन् । कतिबेला अन्तिम नतिजा आउला भनेर उनीहरू बाहिरपट्टि निकै चनाखो बनेर बसेका छन् ।
माओवालीहरूले रेणुले कति मत बढी ल्याइरहेकी छन् भनेर चासो व्यक्त गरेका छन् भने एमालेहरूले चाहिँ देवीले मतान्तरलाई कत्तिको जोगाएका छन् भनेर चासो व्यक्त गरिरहेका छन् ।
बाहिरपट्टि रहेको एउटा समूहले देवीले नै मेयर पद जित्ने आँकलन गरेको छ । कांग्रेसको पकड एरियामै पनि हल्का हल्का भोट झरेमा एमालेले जित्ने उनीहरूको दाबी छ ।
त्यसको ठ्याक्कै विपरीत माओवादी समर्थकहरूले चाहिँ अब सजिलै आफूहरूले जित्ने दाबी गरेका छन् । वडा नम्बर १९ मा रेणुलाई धेरै भोट आउने दाबी एउटा समूहले गरेको छ । वडा नम्बर २० मा त झन् रेणु राम्रो अवस्थामा रहेको उनीहरू बताउँछन् । २० नम्बर वडामा कांग्रेस माओवादी गठबन्धनलाई निकै राम्रो भोट खसेको उनीहरूले दाबी गरे ।
अब के हुन्छ ?कुनै कारणवस मत गणना सकिनुभन्दा अघिनै मत पत्र नष्ट भएमा त्यसको अन्तिम निर्णय गर्ने जिम्मा निर्वाचन आयोगलाई हुन्छ । निर्वाचन आयोगले पुन मतदान समेत गराउन सक्ने व्यवस्था कानुनमा रहेको छ ।
भरतपुरको प्रतिवदेन विहीवार निर्वाचन आयोगलाई पठाइएको छ ।
अब निर्वाचन आयोगलेनै यो विषयमा अन्तिम निर्णय गर्ने छ । दलका प्रतिनिधिहरुले निर्वाचन आयोगले गरेको निर्णयनै आफूहरुले मान्ने बताएका छन् ।